बेपत्ता योद्धा ज्योतिको सम्झना

नेपाल कम्युनिस्ट पार्टी कास्कीले राज्यद्वारा बेपत्ता सोमबहादुर विक (ज्योति) को सम्झनामा खोजसभा गरेको छ । राज्यको सशस्त्र फोर्सले बिरामी आफन्तको उपचारमा जाँदा गिरफ्तार भएका उनी २०५९ असार २३ देखि बेपत्ता छन् ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पूर्णजीत पुन ‘उभार’ले अहिले सहिद तथा बेपत्ता परिवारले तत्कालीन विद्रोही माओवादीका नेताहरुसँग प्रश्न र खबरदारी गरिरहेको बताए । उभारले सहिद तथा बेपत्ताको सपना पूरा गर्न पार्टी प्रतिबद्ध रहेको उल्लेख गरे ।

उनले भने, ‘हाम्रो पार्टीलाई प्रतिक्रियावादी, राष्ट्रघाती, दलाल र साम्राज्यवादी शक्तिहरुले दमन र हस्तक्षेप गर्न खोजे एकीकृत जनक्रान्तिको ज्वारभाटालाई नेतृत्व गर्ने अधिकार हामीसँग सुरक्षित छ ।’

नेकपासँग सरकारले गरेको ३ बँुदे सहमति कार्यान्वयन नगरे नेपालमा राजनीतिक विस्फोट हुने उनले चेतावनी दिए । आफ्नो पार्टी सहमतिमा इमान्दार र प्रतिबद्ध रहे पनि सरकारले ढिलासुस्ती गरेको उनले दाबी गरे । संसदीय व्यवस्थालाई जनताले अस्वीकृत गरिसकेको जिकिर गर्दै उनले वैज्ञानिक समाजवाद अबको एजेन्डा भएको उनले बताए ।

माओवादी संसदीय व्यवस्था अन्त्य गर्न लडेको स्मरण गर्दै उनले त्यो बेला नेतृत्वमा रहेका पुष्पकमल दाहाल, बाबुराम भट्टराई लगायतका नेता सुधारिएको संसदीय व्यवस्थामै हराएको उनको भनाइ छ । उनले भने, ‘आज इतिहासले एउटा समीक्षा र कठोर त्यागको माग गरेको छ ।’

ज्योति २०५६ देखि नेकपा (माओवादी) मा संगठित भएका थिए । २०३२ वैशाख २८ गते पोखरा ३२ खुदीखोलामा जन्मिएका ज्योति बेपत्ता हुनुअघि इलाका स्तरका कार्यकर्ता थिए ।