कविता : एक नशालु आक्रोश

अहङकारले गोलो लगाएको थियो मस्तिष्कमा
खिया लागेर गिदीभरि
धूमिल भएको थियो विवेक
आफूलाई नियन्त्रणमा राख्ने कुराहरू
धेरै जटिल थिए

मेरा वरिपरि घुमिरह्यो पृथ्वी
म महाकाश जित्ने सपनामा पौरिरहेँ

आज मच्छ्डदानीका डोरीहरू राम्रो बँधाइ भएनछ सायद

घडीको आवाज रोकियो
चल्दाचल्दैको देवाल घडी
काँटा फुस्किएर अपाङ्ग भएको थियो
पाइला रोकिएर उभिएको थियो
ठाउँका ठाउँ
समयले पछि फर्किएर हेरेको थिएन पुलुक्क

घडीले बाँध्न सकेन समयलाई खोरभित्र

मैले आजसम्म गन्न सकिनँ
समय कति पाइला हिँड्यो मेरो जीवनमा
अब बाँकी कति छ

मनभित्र अझै पनि
धेरै शब्दका कोलाहल छन्
र त ओठहरू बरबराउँछ्न्
आरिसहरू छटपटाउँछ्न्
पाखुरा जुरमुराउँछन्

कुखुरो बास्यो
तर बिहान लमतन्न छ खाटमा
अझ ब्युँझेको छैन

छि ! मातेको सपना
धिक्कार जिन्दगी ! धिक्कार

अहो, कस्तो बिर्सिएको मेरो प्रतिपक्षको अनुहार

साला ! छोडदिनँ आज तँलाई
मेरो जिन्दगीसँग खेलवाड गर्ने भाग्गे

बाहिर निस्किएर कस्सिएर झटारो हानेँ घामलाई
एकमुख थुकिदिएँ आकाशतिर

कतिबेला रात पर्ला फेरि ?