कविता : मलाई मेरो पुरानै नेपाल फर्काईदेऊ

बिन्ती छ, मलाई मेरो पुरानै नेपाल फर्काईदेऊ
स्कुल सकिनेबित्तिकै आमाको ममता बोकेर बच्चाहरुको थालीमा आईपुग्ने
मकै, भटमास र मोही फर्काइदेऊ
वर्ष दिनमै भए पनि परदेशीएका छोराहरुको हँसीलो मुहार बोकेर घर फर्कने
दशैंका जुनेली रातहरु फर्काईदेउ
रोपाईं गर्दा मेरा दिदीबहिनीहरुले गाउने गरेको मीठो गीतको भाका फर्काईदेऊ
वर्षातको पानीले भिजेर बसाएका ती घुमाउने घरका माटोका भित्ताहरु फर्काईदेऊ
मलाई उकुसमुकुस भइरहेछ आज यो सहरमा सास फेर्न
मलाई केराका पात र पाखुरीका बोटको गन्ध बोकेर आउने
मेरो गाउँको त्यो शक्तिवर्धक हावा फर्काईदेऊ
विकृति पोतिएका अखवारका पाना हैन
कुन्नि कहाँ कहाँका जिल्लाबाट मार्मीक कथा बटुलेर गाउने
गइनेने दाइहरुको सुरिलो र सारंगीमय खबर फर्काईदेऊ
विदेशीको पाउमा लम्पसार पर्ने
र यहाँ आएर देशप्रेम कुर्लने व्वाँसाजस्ता शासक होइन
शत्रुलाई मूला काटेझैं काट्ने वहादुर पुर्खाहरुको कथा फर्काइदेऊ
सेकेन्ड सेकेन्डमा पाइने फेसबुकका निरस हाइ, हेलो र शुभेच्छाले म आजित भइसकें
मलाई प्रेमले स्पर्श गर्न र अँगालो हाल्न मिल्ने खालको न्यानो माया फर्काइदेऊ
मान्छेले भनेको मान्छेले मान्ने, अनि गाउँलाई दुख्दा सहर पनि रुने
सपनाको जस्तो लाग्ने, त्यो मेरो हरियो देश फर्काईदेउ
भो चाहिएन मलाई तिम्रो नयाँ नेपाल
मलाई मेरो पुरानै नेपाल फर्काईदेऊ
मौरी र कठ्यौरीहरु भुनभुनाईरहने ती पहेंला तोरीका फाँटहरु फर्काईदेऊ
कहिले काँक्रो त कहिले उखु चोरेर भाग्दा गाली गर्दै लखेट्ने लामाघरे बुढी फर्काईदेउ
सुझ न बुझसँग उफ्रेर भए पनि गाउँका बदमासहरुलाई तह लगाउने
गंगाधर बुढो फर्काईदेउ
भो, घाँटीसम्मै आयो मलाई तिम्रो नयाँ नेपाल
बिन्ती छ, मलाई मेरो पुरानै नेपाल फर्काईदेऊ ।