प्रदेशले चाडै खोप ल्याउँछ : मन्त्री अधिकारी

कोभिड कहर नियन्त्रण गर्न दोस्रो चरणको निषेधाज्ञापछि विस्तारै जानजीवन सामान्य हुने अपेक्षा छ । कोभिडको खोप संघ सरकारले मात्र किन्ने व्यवस्था रहेकोमा प्रदेश र स्थानीय तहहरुले पनि यो अधिकार मागिरहेका छन् ।

अपेक्षा बमोजिम सरकारले नागरिकलाई खोप उपलब्ध गराउन नसकेको गुनासो आइरहँदा नागरिक स्तरबाट भने उल्लेख्य रुपमा कोभिड पीडितलाई राहत र सुरक्षा सामग्री हस्तान्तरण भइरहेको छ । बिहीबार पोखरा १३, मियाँपाटमा रहेको अन्नपूर्ण क्लिनिकल प्रालि र नमस्ते फार्मेसियाले आयोजना गरेको कार्यक्रममा १ सय ३० जनाको सित्तैमा जाँच गरियो ।

कार्यक्रममा उपस्थित सबैलाई मास्क, सेनिटाइजर लगायतका सामग्री पनि वितरण गरियो । कार्यक्रममा गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले प्रदेश सरकारले चाडै खोप किन्ने बताइन् । उनले यसका लागि संघ सरकार र अन्य निकायसँग छलफल भइरहेको उल्लेख गरिन् ।

मन्त्री अधिकारीले अब गण्डकी प्रदेशमा कुनै पनि महिलाले स्तन तथा पाठेघर क्यान्सर भएर अकालमा ज्यान गुमाउनुनपर्ने विश्वास दिलाइन् । उनले स्वास्थ्य क्षेत्रमा त्यस्ता धेरै विकृति रहेको र त्यसलाई अन्त्य गर्न सरकार लाग्ने उनको भनाइ छ ।

पोखरा १३ मा रहेको अन्नपूर्ण क्लिनिकलले सित्तैमा जाँच र सुरक्षा सामग्री वितरण गरेको छ

कार्यक्रममा पोखरा १३ का वडा सदस्य रहिमुल्लाह मियाँ, नेपाल औषधी व्यवसायी संघका केन्द्रीय सचिव यमनाथ पौडेल, संघका गण्डकी प्रदेश अध्यक्ष कृष्ण पाण्डे, संघ कास्की अध्यक्ष विक्रम पन्त, नेपाली औषधी थोक व्यवसायी संघ गण्डकी अध्यक्ष रुद्र मल्ल, अक्सा जामे मस्जिदका धर्मगुरु इमाम हुसेन अली, अन्नपूर्ण क्लिनिकलका सञ्चालक संगीता बरालले बोलेका थिए ।

कार्यक्रममा धर्मगुरु इमाम हुसेन अली र मुस्लिम युवा समिति अध्यक्ष अब्बास अली, पोखरा उद्योग वाणिज्य संघका सदस्य भरत केसी र नेपाल औषधी व्यवसायी संघ गण्डकीको कार्यसमितिलाई सम्मान गरिएको थियो ।

अन्नपूर्ण क्लिनिकलका सञ्चालक मणि न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो । न्यौपानेले सामाजिक उत्तरदायित्व वहन गर्दै महामारीमा सर्वसाधारणलाई सेवा दिन कार्यक्रम गरिएको बताए ।

अन्नपूर्ण क्लिनिकल बेपत्ता परिवारका सदस्य मणि न्यौपाने तथा संगीता बरालले सञ्चालन गरेका हुन् । उनीहरुले आफ्नो आँठौ वैवाहिक वर्षगाँठमा कार्यक्रम आयोजना गरेका हुन् ।