गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई डेविजफल, गुप्तेश्वर गुफाको मापदण्ड घटाउन नेपाली कांग्रेस वडा समिति पोखरा १७ ले ध्यानाकर्षण गराएको छ ।
समितिको तर्फबाट बुधबार डेविजफल, गुप्तेश्वर महादेव गुफा तथा फेवातालबाट पानी निकास भई बगेको खोलाको मापदण्ड ३ मिटर गर्नुपर्ने मागसहित मुख्यमन्त्रीको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच सभापति देवराज आचार्यले मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षणपत्र हस्तान्तरण गरे ।
पोखरा १७ गुप्तेश्वर महादेव गुफा वरिपरि कायम गरिएको मापदण्ड हटाउन, डेभिजफल खोला (फेवा बाँधदेखि डेभिजफल हुँदै फुस्रेखोलासम्म) को नयाँ मापदण्ड हटाई ३ मिटर मापदण्ड कायम गराउन, डेभिजफल (पातलेछाँगो) हालसम्म छोरेपाटन माविले भोगचलन, आयआर्जन गरिआएकोमा सोको बिना शर्त निरन्तरता कायम राख्ने विषय ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
पोखरा महानगरपालिकाले डेविजफललगायत अन्यलाई आफ्नै अनुमानको आधारमा सेती नदीको मापदण्डअनुसार कायम गर्नु आपत्तिजनक रहेको ध्यानाकर्षणपत्रमा भनिएको छ । गुप्तेश्वर गुफाको मध्य भागबाट २ सय मिटर मापदण्ड कायम गरेको धेरै समय पहिलादेखि नै महानगरपालिकाले नै नक्सा स्वीकृत गरी भवन निर्माण गर्न अनुमति दिएकामा हालको मापदण्डले चारैतिर रोक्का हुँदा स्थानीयवासी समस्यामा परेको जनाइएको छ ।
सामान्य र नियन्त्रितरूपमा बहाव रहेको डेभिजफल खोलालाई पनि ३० मिटरको मापदण्ड भनिएकोमा सो मापदण्ड आवश्यक नभएकोले ३ मिटर कायम गर्न समितिले अनुरोध गरेको छ ।
डेभिजफल पर्यटकीय क्षेत्र भएकाले आकर्षक र रमणीय बनाउनुपर्नेमा विभिन्न बहानामा टेन्डर गराउन नपाइने उल्लेख गर्दै ध्यानाकर्षणपत्रमा भोगाधिकार प्राप्त संस्था छोरेपाटन माविलाई नै निरन्तरता दिनुपर्ने माग गरिएको छ । मुख्यमन्त्री पोखरेलले उठाइएका विषयलाई गम्भीरताका साथ लिँदै समाधानका लागि पहल गर्ने विश्वास व्यक्त दिलाए ।






