पोखरा महानगरपालिका वडा नं। ५ ले वडाका गतिविधि समेटेर वर्षेनी पुस्तकका रुपमा प्रकाशन गर्दै आएको छ । वडा दर्पण नाम दिएर यसअघि २ संस्करण प्रकाशन भइसकेका छन् ।
वडा कार्यालयले तेस्रो अंक भने महिला विषेशांकका रुपमा प्रकाशन गरेको छ । पुस्तकमा वडामा क्रियाशील महिला र अन्य महिलाका लेख, रचनालाई प्राथमिकता दिइएको छ । वडा दर्पण भाग ३ बुधबार आयोजित कार्यक्रममा पोखरा महानगरकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले सार्वजनिक गरे ।
बरालले वडा कार्यालयले सिर्जनशील र रचनात्मक काम गरेको बताए । उनले आगामी अंकमा विभिन्न प्रशासनीक कामका लागि आवश्यक प्रक्रिया, कागजपत्र र अत्यावश्यक कार्यालयका वडापत्रहरुलाई पनि समेट्न सुझाव दिए ।
पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले अघिल्ला वर्षका वडा दर्पणमा विकास, निर्माणलाई प्राथमिकता दिइएकोमा यसपालि महिलाका सिर्जना र कामलाई समेटिएको बताए । उनले वडाका कृषि, स्वास्थ्य, पूर्वाधार लगायतका विषय समेटेर चाडै अर्को अंक प्रकाशन हुने जानकारी दिए ।
वडा दर्पण ३ प्रकाशन उपसमिति संयोजकसमेत रहेकी वडा सदस्य अञ्जु क्षेत्रीले वडा कार्यालयले महिलाका योगदान, रचना, सम्भावना र क्षमतालाई उजागर गर्ने प्रयास गरेको उल्लेख गरिन् । उनले भनिन्, ‘नागरिकको आँगनको सरकारले नारी प्रतिभालाई सम्बोधन गर्ने प्रयास गरेको हो ।’
कार्यक्रममा वडा सदस्यद्वय उज्ज्वल खत्री र हरिमाया विश्वकर्मा, पत्रकार कञ्चन थापा र कांग्रेस पोखरा ५ सभापति फडिन्द्र पराजुलीले पनि बोलेका थिए ।






