गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बास्तोला नियुक्त भएका छन् ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधान २०७२ को धारा १६० अनुसार उनलाई सोमबार नियुक्त गरेकी हुन् ।
मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानुनी सल्लाहकार हो । मुख्य न्यायाधिवक्ताको मर्यादाक्रम उच्च अदालतको न्यायाधीश समान हुन्छ ।
पोखरा ११ का बास्तोला २५ वर्षदेखि पोखरामा कानुन व्यवसाय क्षेत्रमा क्रियाशील छन् । बास्तोला उच्च अदालत बार एसोसिएसन पोखराका पूर्व अध्यक्ष र डेमोक्रटिक लयर्स एसोसिएसन कास्की पूर्व अध्यक्ष हुन् ।
मुख्यमन्त्रीले चाहेको अवधिसम्म मुख्य न्यायाधिवक्ता आफ्नो पदमा बहाल रहने संवैधानिक प्रावधान छ । यसअघि मुख्यमन्त्रीले प्रदेश सरकारको नीति तथा योजना आयोग उपाध्यक्षमा तनहुँका डा रघुराज काफ्लेलाई नियुक्त गरेका थिए ।






