गायन रियालिटी सो गर्दै एनआरएनए

- एनआरएन द सिंगर नाम दिइएको सोका विजेताले १५ लाख नगद पाउने छन्

विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न गैरआवासीय नेपाली संघले आयोजना गर्न थालेको ‘एनआरएन द सिंगर’उद्घाटन गरिएको छ ।

आइतबार भर्चुअल माध्यमबाट आयोजित समारोहमा संघ केन्द्रीय अध्यक्ष कुमार पन्त, पूर्वअध्यक्ष जीवा लामिछाने तथा वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाले संयुक्त रूपमा उद्घाटन गरे । अध्यक्ष पन्तले यो कार्यक्रमले विश्वभरि छरिएका नेपालीको गायन प्रतिभा खोजीका लागि महत्वपूर्ण भूमिका खेल्न विश्वास लिएको बताए ।

संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले यो कार्यक्रम सफल बनाउनका लागि देशविदेशका सबै नेपालीको साथ र सहयोगको अपेक्षा गरे ।प्रिअडिसनपछि नेपालका टेलिभिजनबाट पनि यो कार्यक्रम प्रसारण हुनेछ ।

प्रतियोगिताका केही एपिसोड नेपालमा पनि हुनेछन् । त्यसका लागि अवस्था पनि हेर्नुपर्ने हुन्छ । त्यो बेलासम्म महामारीको अवस्था कस्तो हुन्छ, त्यसअनुसार पनि निर्णय हुने बताइएको छ । कति अडिसन भर्चुअल गर्ने र कति भौतिक रुपमै गर्ने भन्ने कुरा त्यही अवस्थाअनुसार हुने गौतमको भनाइ छ ।

निर्णायक समिति प्रमुख बाँस्कोटाले सबै नेपालीको साथ र सहयोगबाट एनआरएनएको यो ऐतिहासिक सांगीतिक कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे । एनआरएनएको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समिति संयोजक हिक्मत थापाले विदेशमा पनि ठूलो नेपाल छ, नेपाली छन्, भाषा, साहित्य र संस्कृति छ भन्ने कुरा दर्शाउन यो कार्यक्रमले इँटा थप्ने भनाइ राखे ।

प्रतियोगिताको प्रिअडिसन आइतबारदेखि खुला भइसकेको छ । कार्यक्रममा प्रथम पुरस्कार१५ लाख, द्वितीय पुरस्कार ७ लाख र तृतीय पुरस्कार ४ लाख तोकिएको आयोजकले जनाएका छन् । ‘एनआरएन द सिंगर’ नामको मोबाइल एपमा डाउनलोड गरेर प्रतियोगीले त्यसैमा आफ्नो गीतको भिडियो राख्न सक्नेछन् ।

भिडियो फाइल र त्यसको लिंकसमेत एपमा राख्न सकिनेछ । यो एपमा कार्यक्रमबारे जानकारी पनि हुनेछ भने प्रतियोगीका लागि भोटिङका लागि पनि यो एप प्रयोग हुनेछ ।

‘खोजी ः एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ नारा दिइएको यो प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ संगीतकार बाँस्कोटा, गायक राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष तथा नियात्राकार जीवा लामिछाने छन् ।रासस

Facebook Notice for EU! You need to login to view and post FB Comments!