स्वास्थ्य क्षेत्रलाई साढे २१ करोड

पोखरा महानगरले समग्र स्वास्थ्य क्षेत्रको विकासको लागि २१ करोड ५० लाख विनियोजन गरेको छ ।

सरकारले कोभिड विरुद्धको खोप खरिदको लागि जिम्मेवारी दिए कम्तीमा ५० हजार खोप किन्ने बजेटमा उल्लेख छ । महानगरले खोप उपलब्ध गराउने विषयमा भगिनी सम्बन्ध भएका नगरहरुका नगर प्रमुखलाई अनुरोधसमेत गरेको छ ।

हाल सञ्चालनमा रहेको आइसोलेसन, पिसिआर नमूना संकलन, कोभिड अस्पतालको स्तरउन्नति तथा संचालनका लागि ३ करोड विनियोजन भएको छ । कोभिड–१९ नियन्त्रणको लागि हालै स्थापना गरिएको शिशुवा अस्पतालको कोभिड वार्ड संचालन तथा शिशुवा अस्पतालको संचालन समेतको लागि रु. ३ करोड ५० लाख बजेट छ ।

हाल कोभिड वार्ड संचालित साविकको लेखनाथ नगरपालिकाको परिसरमा शिशुवा अस्पताल स्थानान्तरणका लागि एउटा प्रशासनिक भवन निर्माणको डिपिआर तयार गरिने भएको छ । उक्त अस्पताल भवन निर्माणका लागि लायन्स क्लब लगायत सहयोगी खोजी गरिने भएको छ ।

कोभिडको कारण रोगजारी गुमाएकाहरुलाई लक्षित कार्यक्रम सञ्चालन गर्न कृषि र सामाजिक विकास क्षेत्रबाट २५ लाख प्रस्ताव गरिएको छ । रोजगारी लक्षित संघीय सरकारका कार्यक्रम तथा प्रदेश सरकारका कार्यक्रमसँग आवद्ध गरी यी कार्यक्रम सञ्चालन गर्न प्रस्ताव गरिएको छ ।

पोखराका एम्बुलेन्स सेवालाई एकीकृत र समन्वयात्मक रुपमा परिचालन गर्न पोखरा १२ को वडा कार्यालय परिसरमा एम्बुलेन्स स्टेसन स्थापना गरिने भएको छ । यस आयोजनाको लागि १ करोड बजेट छ ।

पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको छ । चालु आवका लागि ५ अर्ब ७२ करोडको बजेट ल्याइएको थियो ।

उपमेयर मञ्जु गुरुङले विनियोजित बजेटमध्ये चालुतर्फ २ अर्ब ९१ करोड अर्थात् ४६।४ प्रतिशत छुट्याइएको छ । पुँजिगततर्फ ३ अर्ब ३७ लाख रुपैयाँ अर्थात् ५३।६ प्रतिशत विनियोजन गरिएको छ ।