राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले सम्पदा दोहन नगर्न ध्यानाकर्षण गराएको छ ।
पोखरा महानगरपालिका वडा नंं २३, २४ मा निर्मित फेवा सेडिमेन्टेसन ट्रयाप बेसिनमा संकलित ढुंगा, गिटी, वालुवा र बग्रेठ निकाल्न र बेचबिखन गर्न सार्वजनिक निजी साझेदारी अन्तर्गत २४ वर्षका लागि ठेक्कामा दिने तयारी महानगरले गरेको छ ।
बेसिनदेखि १ किमी तलमाथिसम्म उत्खनन् गर्न पाउने गरी गरिएको ठेक्का सम्झौताप्रति राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष विष्णुहरि अधिकारीले बताए । बेसिनमा संकलित सामग्रीका अलावा पनि बेसिनको १ किमी तलमाथि सम्म उत्खनन् लगायतका अन्य गतिविधि सञ्चालन गर्न दिइनुले त्यहाँको प्राकृतिक स्रोत र साधनको चरम दोहन हुनसक्ने, वरपरको जमिन वस्तीहरुमा जोखिम हुन सक्ने र साथै त्यसको वातावरणीय कुप्रभावको असर फेवातालमा समेत पर्न सक्ने भन्दै सचेत गराइएको छ ।
सम्पदाले सम्झौता तुरुन्त सच्याई फेवाताल र त्यहाँको वरिपरिको प्राकृतिक, भौतिक वातावरणको संवेदनशीलतालाई ध्यान दिँदै कामको प्रगति विवरणको आधारमा नवीकरण गर्दै जाने गरी छोटो अवधिका लागि बेसिनभित्र मात्र गतिविधि सञ्चालन गर्न पाउने गरी सम्झौता गर्न आग्रह गरेको छ ।
यता, सम्झौताबारे विवाद भएपछि पोखरा महानगरले सरोकारवालासँग छलफल गर्न एक समिति गठन गरेको छ ।




