गण्डकी सरकारले सबै नागरिकलाई पुग्ने खोप किन्ने

गण्डकी सरकारले सबै नागरिकलाई पुग्ने गरी कोरोनाको खोप किन्ने भएको छ ।

मंगलबार प्रस्तुत बजेटमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्न खोप खरिदको लागि आवश्यक बजेटको व्यवस्था गरेको उल्लेख गरेका हुन् ।

संक्रामक तथा सरुवारोग अस्पतालमा अत्याधुनिक प्रविधिसहितको सुविधासम्पन्न भवन निर्माण गरी सेवा सुविधा बिस्तार गरिने भएको छ । स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको शल्यक्रियामा लाग्ने खर्च प्रदेश सरकारबाट व्यहोर्ने भएको छ ।

दुर्गम क्षेत्रका जटिल अवस्थामा रहेका गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको उद्धार गरी अस्पतालसम्म पुर्‍याउन एयर लिफ्टिङ्ग कार्यक्रमलाई प्रभावकारी बनाउने योजना अघि सारिएको छ ।

नवलपूरको मध्यविन्दु अस्पताल, तनहुँको दमौली अस्पताल, बाग्लुङको धौलागिरी अस्पताल र स्याङ्जाको भीरकोट नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नती गर्ने सरकारले घोषणा गरेको छ ।

गण्डकी विश्वविद्यालयमा ३५० शैयाको जनरल, ५० शैयाको मुटु रोग, ५० शैयाको अर्बुद रोग, ५० शैयाको मृगौला रोगसहित ५०० शैयाको शिक्षण अस्पताल स्थापना गरिने भएको छ । यसका लागि बिस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण थाल्न बजेट विनियोजन गरिएको छ ।

स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रदेश मातहतका जिल्ला स्वास्थ्य कार्यालयमार्फत वार्षिकरु ६ हजार प्रोत्साहन भत्ता दिइने भएको छ ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८९७९ का लागि ३० अर्बको बजेट ल्याएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबारको संसद बैठकमा ३० अर्ब तीन करोड ९४ लाख २७ हजारको बजेट पेश गरे ।

यो बजेट चालु आर्थिक वर्षको भन्दा ४ अर्ब थोरै हो । चालु खर्चतर्फ १३ अर्ब ६ करोड ४७ लाख ९४ हजार रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ७३ करोड ४६ लाख ३३ हजार बजेट छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।