श्रीमतीकै योजनामा माओवादी नेताको हत्या

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेयलाई गोली प्रहार गरी हत्या गरेको र हतियार बेचेको आरोपमा ११ जनालाई पक्राउ गरेको छ।

जेठ ५ गते कपिलवस्तु नगरपालिका वडा नम्बर ३ गोबरीमा गोली प्रहारपछि घाइते भएका पाण्डेयको उपचारका क्रममा जेठ १० गते काठमाडौँको शिक्षण अस्पतालमा मृत्यु भएको थियो । मोटरसाइकलमा तौलिहवा फर्किदै गर्दा पाण्डेमाथि गोली प्रहार भएको थियो ।

प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारी नेतृत्वको टोलीले अनुसन्धानका क्रममा घटनामा संलग्न कपिलवस्तु नगरपालिका वडा नम्बर–१ का ओम प्रकाश यादव र उनले लुकाई राखेको पेस्तोल एक थान, सोको म्याग्जिन तथा ६८ राउण्ड गोली बरामद गरिएको छ । त्यसैगरी हत्यामा संलग्न कपिलवस्तु नगरपालिका–२ बस्ने साकिर अलि पखिया र उनले प्रयोग गरेको कटुवा पेस्तोलसहित २ थान गोली तथा कपिलवस्तु नगरपालिका वडा नम्बर–२ घर भई वडा नम्बर–६ ससुरालीमा बस्दै आएका रमजान साह मुसलमान र उनले वारदातमा प्रयोग गरेको स्वचालित पेस्तोल, म्याग्जिन तथा ८ राउण्ड गोली प्रहरीले बरामद गरेको छ ।

प्रहरीले साकिर अलि पखियाले हत्या गर्न प्रयोग गरेको कटुवा पेस्तोल लुकाउन सहयोग गर्ने कपिलवस्तु नगरपालिका–१ का पूर्णवीर पाल्पालीलाई समेत नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्नता रहेका ओम प्रकाश यादवसँग अनैतिक सम्बन्ध रहेकै कारण पाण्डेयकी श्रीमती महिमाको मुख्य योजनामा दीपकको हत्या भएको प्रहरीले दाबी गरेको छ ।