गण्डकी सरकारमा जाँदैनौं : केसी

राष्ट्रिय जनमोर्चा हालै गण्डकीमा बनेको सरकारमा सहभागी नहुने भएको छ ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेश सरकारमा आफ्नो पार्टी सहभागी नहुने जनाएका हुन् । सरकारका गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने केसीले प्रष्ट गरे ।

आइतबार विज्ञप्ति निकालेर उनले ‘प्रतिगमनको मतियार बनेको’ गण्डकी सरकारलाई अपदस्थ गर्न सफलता मिलेकोमा विपक्षी गठबन्धन लगायत सबैलाई बधाई दिएका छन् । केसीले भनेका छन्, ‘त्यो षडयन्त्रलाई प्रतिगमनविरोधी सम्पूर्ण राजनीतिक दल, प्रेस जगतले असफल पारेका छन्। जुन स्वागतयोग्य कुरा हो।’

गण्डकीमा एमाले नेतृत्वको सरकार ढाल्न जनमोर्चाले निर्णायक साथ दिएको थियो । यहाँ जनमोर्चाका २ सांसद छन् । अर्का सांसद कृष्ण थापाले पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै जनमोर्चाले निष्कासन गरेको छ ।