ढल्यो एमाले सरकार, अब मध्यावधि कि अर्काे सरकार ?

गण्डकी प्रदेश सरकार सदनमा विश्वासको मत प्राप्त गर्न असफल भएको छ ।

बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पेश गरेको विश्वासको मत उनले पाएनन् । यससँगै मुख्यमन्त्री गुरुङ पदमुक्त भएका छन् ।

मुख्यमन्त्री गुरुङको पक्षमा २७ मत र विपक्षमा ३० मत परेको थियो । जनमोर्चाका कृष्ण थापा तटस्थ बसे भने दीपक मनाङ्गे अनुपस्थित भए ।

६० सदस्यीय प्रदेशसभामा एमाले र विपक्षी गठबन्धन दुवैतिर बहुमत देखिँदैन । विपक्षी गठबन्धनले बहुमत बनाएर सरकार बनाउने दाबी गरे पनि अब प्रदेशमा के होला भन्नेतिर सबैको ध्यान सोझिएको छ ।

संघीय सरकारझैं गण्डकी प्रदेशमा पनि मध्यावधि निर्वाचन घोषणा हुने हो कि भन्ने शंका पनि छ ।

अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै १६८(५) अनुसार नयाँ सरकार गठनको बाटो खुलेको छ ।

उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने’ उपधारा ५ मा उल्लेख छ ।

अब प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाको विश्वासको मत प्राप्त गर्ने आधारमा प्रस्तुत गर्न प्रदेशसभाका कुनै पनि सदस्यलाई आह्वान गर्नेछिन् ।