कविता : रानु मौरीको स्वाद फेरिएपछि

(१)
लामो प्रतीक्षा पछि
नयाँ संविधानजारी भएपछिको
विहान जस्तै उत्साहप्रद
सुन्दर, सफा र स्निग्ध विहानीको
शारदीय घाम लागेको बेला
अघिल्लो दिन
विजयोत्सव मनाउदा थाकेको शरीर, र
खुशीको मातसँगैको
थकाइ र रक्सीको खुमारीले
अरिङ्गालहरु निद्रामै भएको बेला
आमाहरु आफ्नाबच्चालाई
घचघचाउदै उठाउँदै थिए, र
बच्चाहरु स्कूलजानको लागि
आँखामिच्दै उठ्दै थिए
त्यहि बेला
तोरीबारीमाकर्मी मौरीसंग
रमाइरहेको रानो एकाएक
आफ्नै स्वार्थको वरिपरी घुम्न रमाउने
चिनी रोगले ग्रस्त विचौलियाले
बारीको कान्लाबाट विस्ठाउदा
फुट्दै खसेका डल्लावरिपरी घुम्न थालेपछि
फूलको रस खाएर
मह काढनु पर्ने मेहनतीमौरीहरु
विचल्लीमा परेकै हुन्
बेला बेलामाबारीको कान्लाबाट खस्ने
विस्ठाबाट आत्तिएर छिरल्लिएकै हुन् ।

(२)
विदेशीदाताले दिएको अनुदान पचाउन
सहकारी र गैर सरकारी संस्थाको माध्यमबाट
विचौलियाले फूलहरुको बीचमा राखिदिएको
रासायनिक चिनीको गुलियोबाट
मह उत्पादनगर्न नसक्ने अवस्थामा पुगेका
कर्मीमौरीहरु
फेसबुकमा अल्झिएका
थुप्रै सिद्धान्तनिष्ठ चिल्ला कमरेडहरु जस्तै
किसान र जनताको लागि
बेकार र बोझिला हुँदै गइरहेकै हुन् ।

(३)
नयाँ संविधानजारी भएपछिका
विचरा जनताजस्तै
किसानहरु पनि झुक्किएकै हुन्
विगतमा झैँ बारम्बार ठगिएकै हुन्
बारीको कान्लाबाट खस्न थालेको डल्लामा
रानु रमाउन थालेपछि
रानु मौरीको स्वाद फेरिएपछि
फूलको रस खान नजानेर
मौरीहरु अलमलिएकै हुन
कहिलेकाँहिआत्तिएर
किसानहरुलाई चिल्न थालेकै हुन् ।

(४)
सोझा निमुखा जनतालाई
कार्यकर्ताले सधैँ सताएको मात्र संझना भएझैँ
परिश्रमी किसानलाई पनि
अरिङ्गालले चिलेको बाहेक केहि संझना छैन
चुनावी कार्यकर्ता
गाउँमा जनतालाई नचाहिए जस्तै
किन चाहिएको छ विना कसूर चिल्ने अरिङ्गाल
मौरीको हुलमा किसानलाई ?

(५)
प्रत्येक ऐतिहासिक परिवर्तनपछि
जनताले देख्ने गरेको सपना
सदाको वर्षामा बाढीसंगै बस्ती बगे जस्तै
बारीको कान्लाबाट खस्न थालेको फुटेको डल्लामा
रानु रमाउन थालेपछि
घारमा मह बन्न छाडेकै हो
रानु मौरीको स्वाद फेरिएपछि
विष्ठानुरागी रानु नचाहिएकै हो
जसरी
विवेक हीनहरुको हातमा सत्ता गएपछि
दलभित्रका अक्षम र हुतीहाराहरुको जमात
नचाहिएकै हो ।