राष्ट्रिय जनमोर्चाले सांसद कृष्ण थापालाई पदबाट हटाएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सहयोग गर्ने ठानिएका थापालाई पार्टीले हटाएको हो ।
जनमोर्चा संसदीय दलको पत्रअनुसार थापालाई कारवाही भएको पत्र बिहीबारको प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले सुनाएका हुन् ।
२९ वैशाखमा फेरि मुख्यमन्त्री बनेका गुरुङले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । अब उनले विश्वासको मत पाउने सम्भावना झन झिनो बनेको छ । अब गण्डकी प्रदेशसभा ६० बाट ५९ सदस्यीय भएको छ ।
संसदमा एमालेका २७, स्वतन्त्र १ गरी २८ सरकारको पक्षमा छन् । अब सरकार बनाउन आवश्यक ३० सांसद विपक्षी मोर्चासँग भएका छन् । गण्डकीमा कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखबाहेक ११, राष्ट्रिय जनमोर्चाका २ र जसपाका २ गरी ३० सांसद विपक्षी गठबन्धनमा छन् ।
यसअघि जनमोर्चाका थापा र अर्का सांसद खिमविक्रम शाहीले विपक्षी गठबन्धनलाई सघाउन नमानेपछि मुख्यमन्त्रीमा गुरुङ ठूलो दलको नाताले दोहोरिएका थिए ।
थापा बागलुङ क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित हुन् । जनमोर्चाको यो कदमले कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने बाटो खोलेको छ ।
थापाले भने यसलाई निर्दलीयताको संज्ञा दिएका छन् । उनले आफूमाथि अन्याय भएको तर्क गरे । पार्टीको कदमबारे उनले भने, ‘ यो आन्दोलनको एउटा स्खलन हो । यो कदमको इतिहासले मूल्यांकन गर्छ ।’ उनले आफू कुनै पार्टीमा नजाने उल्लेख गरे ।




