उपेन्द्रसँग छुट्टिएर हृदयेशसँग एकताको तयारी

जसपाको महन्थ ठाकुर समूह र स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहले एकीकरणको तयारी गरेका छन् ।

त्रिपाठी समूहका नेता व्रिजेश गुप्तले जसपा अध्यक्ष ठाकुर र त्रिपाठीबीच पार्टी एकताबारे छलफल भएको पुष्टि गरे । मधेश आन्दोलनपछि बनेको तमलोपामा ठाकुर र त्रिपाठी दुवै जना थिए । राजपा गठनताका अध्यक्ष मण्डलमा नपरेका त्रिपाठी स्वतन्त्र समूह बनाएर चुनाव लडी अहिले मन्त्री छन् ।

२०७७ बैशाख ११ गते राजपा र समाजवादी पार्टीबीच एकीकरण भएर बनेको जनता समाजवादी पार्टी अहिले विभाजनको विन्दुमा छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई समूहले अध्यक्ष ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई साधारणसदस्यसमेत नरहने गरी पार्टीबाट कारबाही गरिसकेको छ ।