हामीसँग मिहिनेती हात छन्
गाउँ बेंसी गर्ने खुट्टा छन्
हामी बगाउन सक्छौं पसिना
एकै दृश्यमा देख्न नसकिने सुन्तलाबारी छ हामी सँग
के छैन र हामी सँग
धान फल्ने खेत छ
अदुवा र कोदो फल्ने बारी छ
करेसाबारी भरी गोलभेडा फल्छन
बारीका कान्ला भरी न्युरो पलाउछ
हामी खानबिना मर्दैनौँ
हामी लाउन बिना नाङ्गिदैनौँ
हामीलाई
हाम्रा छोराछोरी बेच्ने मेनपावर होइन
आलु ,सुन्तला र गोलभेडा बेच्ने बजार चाहिएको छ
हामी हाम्रा छोराछोरीलाई
अरब पठाउन चाहदैनौं
मलेसिया पठाउन चाहदैनौं
चाहदैनौं
कोरिया र कतार पठाउन
सक्छौ उधोग खोल
देशमै रोजगारी सृजना गर
सक्दैनौ
हाम्रा छोराछोरी बेच्ने काम बन्द गर
हामीलाई बुढेसकालमा
सन्तान शोकको पिडा खप्दै बृद्धभत्ता खानु छैन
दिनहुँ
काठको बाकस भित्राउदै
सिंगै देशलाई रुवाउनु छैन
यता हाम्रा सुन्तलाहरु बजार नपाएर
सुन्तलाबारी मै कुहिरहेछन
यता हाम्रा गोलभेडाहरु
मुल्य नपाएर
कौडीको भाउँमा जोखिदैं छन्
उता हाम्रा छोराछोरीहरु
दुई पैसामा श्रम बेच्दै छन्
हामीलाई हाम्रै मिहिनेतको मुल्य चाहिएको छ
सक्छौ भने हाम्रा सुन्तलाहरु किनेर लैजाउँ
हाम्रा अदुवाहरु किनेर लैजाउँ
हामीलाई दयाँ गर्न पर्दैन सरकार
हामीलाई
हाम्रै पौरख बेच्न पाएँ पुग्छ
हामी गरिब छैनौं सरकार
यतिबेला हामीले सोचिरहेका छौं
…………..सुन्तलाबारीमा बसेर
करेसाबारीमा बसेर
अदुवाबारीमा बसेर
यति धेरै सम्पत्ति हुँदाहुँदै पनि
हामी कसरी गरिब भयौँ ?





