मध्यरातमा
शहरमा देखिन थालेका छन् मुर्कट्टाहरु
मुर्कट्टाका विशेष मुद्राहरु
देखिएका छन् शहरको मध्यभागमा
र एकाएक शहर
मुर्कट्टाहरुको क्रीडास्थल
बनेको छ
अचानक
सडकबत्तीहरु निभ्न थालेका छन्
र शहरको उज्यालो
हराएको छ
र, अँध्यारोमा
देखिएका छन् मुर्कट्टाका
उल्टा कुर्कुच्चा
‘मध्यरातमा घरबाट बाहिर
एक्लै नहिँड्नू
मुर्कट्टाहरु खेल्न निस्कन्छन्
मान्छेलाई मुर्कट्टाका
छायाँहरु प¥यो भने
रगत छादेर मान्छे मर्छन् ।’
हजुरआमा भन्नुहुन्थ्यो
हजुरआमा बितेर जानु भो
अहिले हजुरआमाको
याद आउँछ
कविजी,
अँध्यारोमा मुर्कट्टा लखेट्न जाने हो ?
२०७८ जेष्ठ १५





