एमालेका ३ नेता गणतन्त्रको विपक्षमा थिए : वामदेव

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमालेको केन्द्रीय कमिटीमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको लिखित प्रस्ताव आफूले राखेको उल्लेख गरेका छन् ।

एमालेमा घरझगडा चर्केपछि पार्टी एकता राष्ट्रिय अभियान चलाएका गौतमले पार्टीमा गणतन्त्रको प्रस्ताव राख्दा तीन नेताहरु विपक्षमा उभिएको स्मरण गरेका छन् ।

१४ औं गणतन्त्र दिवसका अवसरमा नेता गौतमले नाम नलिए पनि केपी शर्मा ओली, सीपी मैनाली र राधाकृष्ण मैनालीलाई संकेत गरेका छन् ।

‘विडम्बना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो’ एमाले नेता गौतम भन्छन्, ‘त्यो बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ ।’

उनले गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र प्रचण्डलाई गणतन्त्रका महानायकका रुपमा सम्झेका छन् । गौतमले शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वक अगाडि बढ्न आह्वानसमेत गरेका छन् ।