पोखरा २८ ले दियो किसानलाई प्लास्टिक टनेल

पोखरा महानगरपालिका वडा नं २८ ले किसानलाई जीविकोपार्जनमा सघाउन र व्यवसायोन्मुख बनाउन प्लास्टिक टनेल वितरण गरेको छ ।

वडाको आर्थिक वर्ष ०७७ ०७८ का लागि कृषि क्षेत्रमा विनियोजित ४ लाख रकमबाट कृषकलाई प्लाष्टिक टनेल वितरण गरिएको हो । वडाका विभिन्न टोलका किसानलाई प्रतिनिधिमूलक रुपमा वडाध्यक्ष निर्मल नियाली दियालीले टनेल वितरण गरेका हुन् ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी भएको कार्यक्रममा वडा सदस्यहरु अम्बिका बुडाथोकी र विष्णुप्रसाद तिवारी, कृषि सञ्जालका अध्यक्ष इन्द्रप्रसाद गौतम पनि सहभागी थिए ।

वडाध्यक्ष दियालीले वडाको योगदान सानै भए पनि यसलाई सदुपयोग गरी उत्पादन गर्न आग्रह गरे । स्थानीय सरकार घर, आँगनकै सरकार भएकाले महामारीमा वडावासीलाई सघाउन कार्यालय सदा तयार रहेको उल्लेख गरे ।

यसमा वडा कार्यालय र किसानको समान ५० प्रतिशत योगदान छ । यसरी समान योगदानमा ५० कृषक र कोभिड १९ का कारण वैदेशिक रोजगार गुमाएका अति विपन्न १४ गरी ६४ किसानलाई टनेल वितरण गरिएको हो ।

वडाले यसअघि कृषकलाई आत्मनिर्भर बनाउन कुखुराका चल्ला वितरण गरेको थियो ।