राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च जाने भएको छ।
यसबारे शनिबार अपरान्ह साढे ४ बजेदेखि नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल भइरहेको छ । छलफलमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका नेता सहभागी छन् ।
छलफलको संयोजन काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले गरेका छन् । सम्भवत भोलि यसबारे सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिने उनले जानकारी दिए ।
यसअघि विपक्षी गठबन्धना नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिले शुक्रबार राति चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी र अनैतिक भएको जनाएका थिए । विज्ञप्तिमा उनीहरुले यो कदमको प्रतिरोधका लागि आह्वानसमेत गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडक र सर्वोच्च अदालत दुवैतिरबाट प्रतिरोध गरिने बताए । उनले भने, ‘हामी हिजोका सबै १४९ जनाको हस्ताक्षर लिएर सर्वोच्च अदालतमा रिट हाल्न जान्छौं । अदालतले लोकतन्त्रको पक्षमा निर्णय गर्नेछ भन्ने हामीलाई विश्वास छ ।’




