गण्डकी साहित्य सङ्गम पोखराले २०७७ को ‘गण्डकी वाङ्मय पुरस्कार’ कवि चिन्तु गिरीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
सङ्गमले समाजवादी यथार्थवाद र सामन्तवाद–साम्राज्यवाद विरोधी प्रगतिशील तथा देशभक्त साहित्यिक धारामा साधना गर्ने स्रष्टाहरुलाई प्रेरणा, प्रोत्साहन एवं सम्मान गर्न २०५२ देखि राष्ट्रिय तहमा गोकुल वाङ्मय पुरस्कार र क्षेत्रीय तहमा गण्डकी वाङ्मय पुरस्कार १ एक वर्ष विराएर प्रदान गर्दै अएको छ ।
२०७७ सालको क्षेत्रीय तहको पुरस्कार प्रदान गर्न प्रतिभा छनोटका लागि सङ्गमका सदस्य श्री छविलाल आचार्यको संयोजकत्वमा गठित प्राडा रविलाल अधिकारी र प्राडा मानबहादुर केसी रहेको समितिले सर्वसम्मत गिरीलाई सिफारिस गरेको थियो ।
गिरी २ दशकभन्दा बढी समयदेखि प्रगतिशील साहित्यमा क्रियाशील छन् । २०११ सालमा स्याङ्जामा जन्मेका उनका आधा दर्जन कृति प्रकाशित छन् ।
पुरस्कार हरेक वर्ष जेठ ८ गते गोकुल जयन्तीका दिन प्रदान गर्ने गरिएको थियो । अहिले कोरोना महामारीका कारण उत्पन्न परिस्थिति र निषेधाज्ञाका कारण वातावरण सहज भएपछि पुरस्कार हस्तान्तरण गरिने संगमले जनाएको छ ।





