मुस्ताङमा जेठ १५ गतेसम्म थपियो निषेधाज्ञा

सुन्दरकुमार थकाली
जोमसोम—दोश्रो लहरको कोरोना भाईरसको संक्रमण जोखिम कायमै रहेको जनाउदै हिमाली जिल्ला मुस्ताङमा बिहिबार पूनः एक साताका लागि निषेधआज्ञा थप गरिएको छ ।यसअघि बैशाख ३० गते जारी गरिएको निषेधआज्ञा आज जेठ ६ गते राति १२ बजे सकिनै लाग्दा जिल्ला प्रशासन कार्यालयले दोश्रो पटक निषेधआज्ञा जारी गरेको हो ।
जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समितिको सिफारिसमा कोभिड संकटग्रष्तक्षेत्र मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ,घरपझोङ र थासाङ गाउँपालिका भित्र लागु हुने गरी दोश्रो पटक निषेधआज्ञा थप गरिएको मुस्ताङकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिईन् । दुर्गम जिल्लाको रुपमा परिचित हिमाली मुस्ताङको एकमात्र जिल्ला अस्पतालमा क्रिटिकल बिरामीको उपचारका लागि चाहिने आवश्यक भेन्टिलेटर,आईसियु,जनशक्ति र आवश्यक स्वास्थ्य सुरक्षा उपकरण तथा सामाग्री लगायतको अभाव रहेकाले कोरोना रोकथाम तथा नियन्त्रण गर्न निषेधआज्ञा लगाउन परेको प्रजिअ पौडेलले उल्लेख गरिन् ।
कोरोनाका जटिल प्रकृतिका बिरामीलाई जिल्लामा एथेष्ट साधनश्रोत नभएकाले मुस्ताङमा भरपर्दो उपचार सेवा पाउन कठिन पर्दैआईरहेको छ ।मुस्ताङमा कोरोनाको दोश्रो भेरियन्ट जोखिमसंगै संक्रमितको संख्या वृद्धि भईरहेको छ ।जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार बुधबारसम्म मुस्ताङमा संक्रमितको संख्या १ सय ८४ पुगेको छ ।जसअन्र्तगत उपल्लो मुस्ताङको लोमान्थाङमा ७ जना, वारागुङ मुक्तिक्षेत्रमा ९३ जना,घरपझोङमा ५४ जना र थासाङ गाउपालिकामा ३० जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।
उनका अनुसार थासाङमा ३० संक्रमित मध्ये १ जना ,घरपझोङमा ५४ संक्रमित मध्ये २९ जना र वारागुङ मुक्तिक्षेत्रमा ९३ संक्रमित मध्ये ९ जना व्यक्ति कोरोनामुक्त भएका छन् । यस्तै मुस्ताङमा पछिल्लो २ साता भित्र १९ जना कोरोना संक्रमित पोखरा रिफर भईसकेको र संक्रमणकै कारण ४ जना व्यक्तिले ज्यान गुमाउन परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
भौगोलिक रुपमा विकट मुस्ताङबाट पछिल्लो हप्ता एक दर्जन कोरोना संक्रमित जटिल बिरामीको हेलिकोप्टर मार्फत उद्दार गरिएको जिल्ला सीसीएमसीले जनाएको छ । पोखरा—जोमसोम साविक हेलि भाडादरको तेब्बर शुल्क तिरेर संक्रमितलाई उपचारका लागि पोखरा पठाउनु पर्ने अवस्था रहेको जनाइएको छ ।
कोरोनाको दोश्रो लहरसंगै मुस्ताङको तल्लोक्षेत्रका ३ स्थानीय तहमा समूदाय स्तरमा कोरोना संक्रमण देखा परेपनि उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेरक दामोदरकुण्डमा कोरोना परीक्षण नहुँदा संक्रमितको संख्या सुन्य रहेको थियो ।
उपल्लो मुस्ताङका दुई स्थानीय तहमा कोरोना परीक्षण नभएको अवस्थामा पालिका आफैले किट खरिद गरी परीक्षण सुरु गरेको लोमान्थाङका स्वास्थ्य संयोजक तेन्जिङ नर्वु गुरुङले जानकारी दिए । उनका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङाम बुधबार गरिएको परिक्षणमा कोरोना संक्रमित फेला परेको उनले बताए ।