गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रीमण्डल विस्तार गरेका छन् ।
विस्तारित मन्त्रीमण्डलको पहिलो बैठकले विभिन्न निर्णय गरेको छ । मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा डा भीष्म अधिकारी नियुक्त भएका छन् । यसअघि मुख्यमन्त्री गुरुङको राजनीतिक सल्लाहकारमा गोविन्द नेपाली थिए ।
एमालेबाट दोस्रो संविधानसभामा निर्वाचित भएका अधिकारी सुन्दरबजार नगरपालिका ३ लमजुङका बासिन्दा हुन् ।
बुधबारको बैठकले नवनियुक्त मन्त्री रामशरण बस्नेतलाई सरकारको प्रवक्ता तोकेको छ । बस्नेत यसअघि भौतिक पूर्वाधार विकास मन्त्री र सरकारका प्रवक्तासमेत थिए ।
गण्डकी सरकारले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षमा डा गिरीधारी शर्मा, सदस्य विष्णुराज बराललाई निरन्तरता दिएको छ । मन्त्रीपरिषद्को कार्यविभाजन नियमावली संशोधन भएको जनकारी दिँदै प्रवक्ता बस्नेतले मन्त्रालयहरु बढ्ने उल्लेख गरे ।
उनले भने, ‘केही मन्त्रालय फेरबदल हुने, बढाउने भन्ने छ । कति वटा बनाउने छलफल गर्दै छौं ।’ चाडै मन्त्रीहरुको कार्यविभाजन टुंगिनेसमेत उनले जानकारी दिए ।
प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिड अस्पताल बनाउन संघीय सरकारलाई सिफारिस गरेको छ । गण्डकीको सबैभन्दा ठूलो सरकार अस्पताल कोभिड अस्पताल बनेमा अन्य रोगका बिरामीले सास्ती व्यहोर्नुपर्ने प्रतिक्रिया सरोकारवालाको छ ।






