खिमविक्रम काण्डपछि नागिला बने डिन

विवादित ल्याब सञ्चालक डा अमर नागिला पोखरा विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायको डिन बनेका छन् ।

विश्वविद्यालयको सोमबार बसेको कार्यकारी परिषद्ले नागिलालाई डिन बनाएको हो । उनी स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेसका सहप्राध्यापक हुन् ।

उनी लाइफ केयर डायग्नोस्टिक (एलसिडी) नामको ल्याबका पनि सञ्चालक हुन् । एलसिडीले गण्डकी प्रदेशमा पिसिआर जाँचको अनुमति पाएको छ ।

एलसिडीले राष्ट्रिय जनमोर्चा सांसद खिमविक्रम शाहीको स्वाबको नतिजा १५ वैशाखमा पोजिटिभ देखाएको थियो । जबकी सोही दिन सार्वजनिक भएको सरकारी ल्याबको रिपोर्टमा उनको नतिजा नेगेटिभ थियो ।

त्यही पोजेटिभ रिपोर्ट देखाएर शाही अस्पताल भर्ना भएका थिए । फलस्वरुप पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढाल्ने विपक्षीको कसरतमा ब्रेक लागेको थियो ।

पछि अस्पतालले पठाएको सांसद शाहीको रिपोर्ट पोजेटिभ आएको थियो । प्रयोगशाला विज्ञहरु ती ३ स्वाब एकै व्यक्तिका हुनै नसक्ने बताउँछन् ।

एलसिडीले मापदण्ड पूरा नगरी पिसिआर जाँचको अनुमति ल्याएको छ । स्वाब लिने स्थान लगायतका मापदण्ड पूरा नगरेका उनले स्थानीयलाई बारम्बार धम्क्याएका थिए ।

यसअघि ए वर्गको ल्याब पनि उनले मापदण्ड पूरा नगरी सोर्सफोर्सको आधारमा बनाएका थिए । ल्याबको रिपोर्टिङका क्रममा उनले नेपालदुत संवाददातालाई धम्कीसमेत दिएका थिए ।

राजनीति षड्यन्त्र भएको आशंकालाई पछि जनमोर्चाको निर्णय विरुद्ध अविश्वास प्रस्तावबाट पछि हटेर सांसद शाही र अर्का सांसद कृष्णबहादुर थापाले पुष्टि गरेका थिए ।

पोखरा विश्वविद्यालयको कार्यकारी परिषद्ले मानविकी तथा समाजशास्त्र संकायको डिनमा डा अजय थापा र विज्ञान तथा प्रविधि संकाय डिनमा डा रमेशकुमार ठगुराठीलाई नियुक्त गरेको छ । डिनको कार्यकाल चार वर्ष हुन्छ ।

विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले परीक्षा नियन्त्रकमा डा। तुल्सीराम भण्डारी नियुक्त भएको जानकारी दिए ।