पिएनका आंशिक प्राध्यापकले अनलाइन कक्षाको पैसा पाएनन्

पृथ्वीनारायण क्याम्पस पोखराका आंशिक प्राध्यापक आन्दोलित भएका छन् ।

करारमा नियुक्ति गर्नुपर्ने आफूहरुको यसअघिको माग पूरा नभएको र भौतिक तथा अनलाईन कक्षा अध्यापन लिएको पारिश्रमिक नपाएको उनीहरुको भनाइ छ । उनीहरुले २०७६ देखि भुक्तानी नभएको दाबी गर्दै अब अनलाइन कक्षा नपढाउने घोषणा गरेका छन् ।

आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस इकाई समितिका वरिष्ठ उपाध्यक्ष प्रकाशचन्द्र रेग्मी र सचिव खिमानन्द पौडेलले विज्ञप्ति निकालेर शैक्षिक संस्थामा चरम आर्थिक, बौद्धिक तथा मानसिक शोषणको अन्त्य हुनुपर्ने तथा यथाशीघ्र आंशिक शिक्षकलाई करारमा नियुक्ति गर्नुपर्ने माग गरेका छन् । ती माग पूरा नभएसम्म अनलाइन अध्यापन नगर्ने विज्ञप्तिमा उल्लेख छ ।

करार नियुक्तिको माग राखी चरणवद्ध रुपमा आन्दोलनरत आंशिक प्राध्यापक संघ र त्रिविद्वारा गठित वार्ता समितिबीच भएको सहमति अनुरुप आंशिक शिक्षकहरूलाई उनीहरुको अनुभव, निरन्तरता, कक्षाभार, आवश्यकता र औचित्यता पुष्टि हुने गरी सम्वन्धित क्याम्पसले शिक्षण सहायक सरहको सेवासर्त सहित आन्तरीक करार गर्ने र अन्य आवश्यक संख्या त्रिविले उपलब्ध गराउने यसअघिको प्रतिवद्धता हालसम्म पनि कार्यान्वयन नभएको गुनासो प्राध्यापकहरुको छ ।

गत चैत मसान्तभित्रम यसअघिको सहमति कार्यान्वयन गर्न पृथ्वीनारायण क्याम्पस, आंशिक प्राध्यापक संघ र विभिन्न विद्यार्थी संघ संगठनहरुसँग पुनःत्रिपक्षीय सहमति भएको समयसिमा समाप्त पछि फेरि वैशाख मसान्तसम्म दिएको समयसिमाभित्र समेत क्याम्पसले आंशिक शिक्षकलाई आन्तरिक रुपमा करार गर्ने विषयमा कुनै काम नगरेको उनीहरुको गुनासो छ ।