उपेन्द्रको व्यंग्य : राजेन्द्रलाई संसदीय दलको नेता महेश बस्नेतजीहरुले बनाउनुभएको होला !

जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो चयन भएका छन् ।

महन्थ ठाकुर पक्षका सांसदहरुको हिजो बसेको बैठकले महतोलाई संसदीय दलको नेता चुनेको हो । बिहीबार बबरमहलमा बसेको संसदीय दलको बहुमत सदस्यको बैठकले महतोलाई नेता छानेको हो ।

जसपा नेपालका अध्यक्ष ठाकुरले केही दिनअघि सुरु गरेको हस्ताक्षर अभियानमा महतोलाई संसदीय दलको नेता बनाउने एजेण्डा पनि थियो ।

यो निर्णयबारे अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई जानकारी छैन । पार्टीमा संसदीय दलको नेताका लागि उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोले दावी गर्दै आइरहेका थिए ।

अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको बैठक नै नबसेको र विधान पनि पारित नभएको बताए । उनले भने–‘महेश बस्नेतजीहरुले राजेन्द्रजीलाई संसदीय दलको नेता बनाउनुभएको होला, हाम्रो पार्टीका संसदीय दलले उहाँलाई संसदीय दलको नेता बनाएको छैन ।’