गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन्।
विपक्षी दलको दाबी नपुगेको भन्दै गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार साँझ मुख्यमन्त्री नियुक्त गरेकी हुन्। गुरूङ संविधानको धारा १६८ ३ अनुसार ठूलो दलको हैसियतले गुरूङ मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। गुरूङ अहिले कोरोना संक्रमित छन्।
यता, गण्डकीका ४ विपक्षी दलले नयाँ सरकार गठन प्रक्रियाप्रति आपत्ति जनाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङलाई नियुक्त गर्नु प्रदेश प्रमुखको पूर्वनियोजित निर्णय भएको आरोप लगाएका हु्न् ।
चार दलले कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरियोस् भन्ने दावी पेश गरे गरेका थिए ।
प्रस्तावक दलहरुको कागजात नपुगे माग्नुपर्ने वा आवश्यक छानबिन गर्नुपर्नेमा प्रदेश प्रमुखले संविधानको घोर अपमान गरेको विपक्षीको आरोप छ ।
गुरुङले २६ गते मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । प्रदेशसभामा २७ गते अविश्वास प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो ।
राजीनामापछि प्रदेश प्रमुख पौडेलले बहुमत दाबी गर्न दलहरुलाई ३ दिनको समयावधि दिएकी थिइन् । चैत अन्तिम साता माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश प्रमुख परिवर्तन गरिएको थियो ।
अब मुख्यमन्त्री गुरुङले एक महिनाभित्र विश्वासको मत लिनेछन् । उनले विश्वासको मत नपाएमा कुनै सांसदले बहुमतको दाबी गरी सरकार बनाउन सक्छ । त्यसो पनि हुन नसके प्रदेशमा उपनिर्वाचन हुनेछ ।




