लघुकथाः अस्पताल !

रेडियो, टिभी, यूट्यूव हेरेर साध्यै थिएन । मरेर पनि बाचें भन्नेहरु थुप्रै थिए । छिमेकी अस्पतालबाट नफर्केको २ हप्ता भइसकेको थियो । कहीँ कतै बेड समेत खाली थिएन । यता नाकबाट पानी बग्न छोडेकै थिएन । चक्कर लागिरहन्थ्यो ।

हिजो यसो गेटबाहिर निस्कें । म ३, ४ वर्ष अघिदेखि प्रेसरको सिकायत थिएँ । सहनै नसकेपछि हिजो सकिनसकि हिडेरै एक मेडिकल हलमा पुगें । आद्योपान्त समस्या बताएँ । प्रेसर नापको लागि मैले हात तेर्साइ रहें । स्वास्थ्यकर्मीले नानाभाँति गफमा भुल्याउँदै बरु जिन्क, भिटामिन सी आदि पोको देखाए ।

अन्ततः सरकारको सुविधा सम्पन्न अस्पतालतिर लागें । मुस्किलले डाक्टर १० हात परबाटै बोले । प्रेसरको कुरा उठाएँ । तर अनायास पिपिइधारी आएर मेरो स्वाव लिइयो । यत्तिकै भर्ना गरियो ।

भोलिपल्ट एक जम्बो टोली नै नगिच आएर बडो प्यारपूर्वक सुम्सुम्याउँदै मेरा हात समाते र प्रेसर नाप गरे । सम्झाइ बुझाइ गर्दै अन्तमा मलाई डिस्चार्जसहित रिपोर्ट दिए, । रिपोर्ट नेगेटिभ रहेछ । झण्डै एक महिनाको तलब बुझाएपछि गेटबाट पछाडि के फर्केको थिएँ, मुखबाट प्याच्च निस्कियो, ‘थुइक्क अस्पताल !’