सय बेडको आइसोलेसन बनाउँदै पोखरा महानगर

पोखरा महानगरपालिकाले साबिक लेखनाथ नगरपालिकाको भवनमा १ सय बेडको कोरोना युनिट निर्माण थालेको छ । महानगर अन्तर्गतको शिशुवा अस्पताल मातहत रहने गरी त्यो भवनमा कोरोना आइसोलेसन वार्ड निर्माण गर्न लागिएको हो ।

आइसोलेसन वार्ड बनाउन महानगरले अक्सिजनको व्यवस्थापन र पाइपलाइनका लागि २५ लाख रुपैयाँमा बोलपत्र आह्वान गरेको छ । भवन बाहिरका केही संरचना परिवर्तन गर्न ८ लाख ५० हजार रुपैयाँको अर्को बोलपत्र प्रकाशित भएको छ ।

साबिक लेखनाथ नगरपालिकाको भवनमा महानगरकै २७ नम्बर वडा कार्यालय छ । वडा कार्यालयलाई अन्यत्र सारेर महानगरले जेठ दोस्रो हप्ताभित्र सञ्चालन गर्ने गरी निर्माण अघि बढाइएको हो । सय बेड राख्न मिल्ने खालको भवन भएकाले महानगरले तत्काल काम सुरु गरेको स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए ।

उनले अहिले शिशुवा अस्पताल मातहत रहने गरी कोभिड युनिट सञ्चालन गर्ने र महामारी सकिएपछि अस्पतालकै रुपमा विकास गर्ने गरी कार्यअघि बढाइएको पनि बताए ।

कोभिड युनिटमा चिकित्सकको नेतृत्वमा स्वास्थ्यको टिम खडा गरी संक्रमितको उपचारलाई सहज बनाइने शर्माले बताए । नयाँ संरचना खडा गरेर अघि बढ्न छोटो समय भएकाले उक्त भवनलाई प्रयोगमा ल्याइएको उनको भनाइ छ ।

साबिक लेखनाथ नगरपालिकाको ३६ रोपनी क्षेत्रफलको उक्त जग्गामा महानगरले यसअघि महानगर अस्पताल र विशिष्टीकृत बाल अस्पताल बनाउने गरी निर्णय गरेको छ । कोरोना आइसोलेसन युनिट बन्ने भएपछि वडा कार्यालयले पायक पर्ने ठाँउमा भाडामा घर खोजेको छ ।

‘महामारीका बेला आइसोलेसन पनि चाहिएको छ, बनीबनाउ वडा कार्यालय छोडेर भाडामा घर खोज्दै हिड्नु परेको छ,’ वडा नं. २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले भने, ‘अब कार्यकाल सकिन १ बर्ष बाँकी छ, सारै अप्ठ्यारोमा परियो ।’

गुरुङले महामारीमा जनता बचाउनु ठूलो कुरा भएको उल्लेख गर्दै, उक्त भवनलाई महामारीपछि महानगर अस्पतालकै रुपमा विकास गर्नुपर्नेमा जोड दिए । हामी त छाडौला तर पछि महानगरले यहाँको जनताको चाहना अनुसार गुणस्तरीय स्वास्थ्य सेवा दिने गरी योजना बनाउनुपर्नेमा उनले जोड दिए ।

यता, कोभिड युनिटलाई स्वास्थ्य सामग्री सहयोग गर्ने गरी लायन्स क्लब अफ इन्टरनेसनल ३२५ बि १ ले आर्थिक संकलन अभियान अघि बढाएको छ । गण्डकी क्षेत्रका क्लबहरुलाई अभियानमा सहयोग गर्न आह्वानसमेत गरेको छ ।

क्लबले कोभिड कियर बेड र अक्सिजन हाइ फ्लो मेसिन एवं ५० बेड निर्माणका लागि अभियान चलाएको जनाएको छ । अभियानमा क्लबका सदस्यलेसमेत रकम जम्मा गर्न थालेका छन् ।