मनाङका संक्रमितलाई पोखरा लगियो

जिल्ला अस्पताल मनाङमा तीन दिनदेखि उपचार गराइरहेका कोरोना संक्रमितलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा लगिएको छ ।

बुधबार बिहान अल्टिच्युड हेलिकोप्टरमार्फत थप उपचारका लागि संक्रमित दम्पतीलाई पोखरा लगिएको जिल्ला अस्पताल मनाङले जनाएको छ । पिसिआर परीक्षणमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल बुधबारदेखि शिल गरिएको छ ।

अस्पतालमा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको डाक्टर प्रतिभा गौलीले बताइन् ।

जिल्लाको चार पालिकामध्ये दुई पालिका विहिबारदेखि बन्द हुने भएका छन् । ङिस्याङ गाउपालिकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको छ । मंगलबारमात्रै ङिस्याङ पालिकामा एक विदेशिसहित २५ जना नयाँ कोरोना संक्रमित थपिएका थिए ।

संक्रमित संख्या बढेसंगै ङिस्याङ गाउँपालिका पूर्णरुपमा बन्द गरिएको छ । पालिकाभित्रका स्वास्थ्य सेवा र एम्बुलेन्स बाहेका सम्पूर्ण गतिबिधि वन्द गरिएको गाउँपलिकाले एक सूचना जारी गर्दै जनाएको छ ।

चामे गाउँपालिकामा कार्यरत एक कर्मचारीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कार्यपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पालिकाका सम्पूर्ण सेवा बिहीबारका लागि बन्द गरिएको छ ।

कार्यालय र कार्यालय मातहतका सम्पूर्ण सेवा अर्को सूचना नआउदासम्म बन्द हुने प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले बताए ।
जिल्लामा कोरोना संक्रमितको संख्या ४२ जना रहेको स्वास्थ्य कार्यालय मनाङको तथ्याङ्कमा छ । मंगलबारमात्रै जिल्लामा २८ नयाँ कोरोना संक्रमित थपिएका थिए ।

सोमबार ६७ जनाको स्वाव संकलन गरी पिसिआर परीक्षण गर्दा २८ जनाको पोजेटिभ आएको हो । जिल्ला स्वास्थ्य कार्यालय मनाङका अनुसार ङिस्याङ गाउँपालिकामा एक जना विदेशी नागरिक सहित २५ जना र चामे गाउँपालिकामा ३ जना गरी जिल्लामा २८ संक्रमित थपिएका हुन् ।

योसंगै जिल्लामा संक्रमितको संख्या हाल ४२ पुगेको छ । जिल्ला अस्पतालमा उपचारत संक्रमितलाई हेलिकोप्टर मार्फत पोखरा र काडमाडौँ लगिएको छ भने ३९ जना होम आइसोलेशनमा छन् ।