मुस्ताङमा बिहिबार देखि लकडाउन, मुक्तिनाथ जेठ १५ गतेसम्म बन्द


जोमसोम—हिमाली जिल्ला मुस्ताङका तीन स्थानीय तहमा बिहिबार राति देखि लागु हुने गरी निशेषआज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बुधबार बसेको जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समिति ( सीसीएमसी)को बैठकले जिल्लामा कोरोनाको दोश्रो लहर फैलिएको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि बिहिबार राति देखि एक साताका लागि मुस्ताङको थासाङ,घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका भित्र लागु हुने गरी निशेषआज्ञा जारी गरिएको जनाईएको छ ।
समितिले मुस्ताङ जिल्लामा समेत कोरोना माहामारीको भयावह अवस्था बढ्दै गईरहेको र यसको रोकथाम तथा न्यूनिकरण गर्ने उद्देश्यले निशेषआज्ञा जारी गर्नु परेको सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले जानकारी दिए । उनका अनुसार निशेषआज्ञा अवधिभर संक्रमण जोखिम रहेको तीन स्थानीय तहमा अतिआवश्यक सेवा बाहेक सबै सेवा ठप्प हुने उनले बताए ।
जिल्ला सीसीएमसीको बैठकले कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै हिमाली जिल्ला मुस्ताङ भित्रिने जोकोही व्यक्तिले अनिवार्य क्वारेन्टाईन बस्ने प्रतिबद्धता र सुनिश्चिता भएको अवस्था मात्र मुस्ताङ प्रवेशको अनुमती दिने निर्णय गरेको छ ।
यस्तै ,कोरोनाको दोश्रो लहरसंगै गत बैशाख ११ गते देखि बन्द रहेको मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर एक महिना अवधि पन्ध्र दिन थपेर जेठ १५ गतेसम्म लागि बन्द गर्ने सीसीएमसीले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।
हिमाली जिल्ला मुस्ताङमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन थपिदै गईरहेको र संक्रमण जोखिमको अवस्था भयावह हुने आशंका रहेकाले जिल्ला सीसीएमसीले निशेषआज्ञा जारी गर्नु परेको स्पष्ट पारेको छ । यसअघि स्थानीय प्रशासनले कोभिड रोकथाम तथा नियन्त्रणमा कुनै पहल नगरेको भन्दै नागरिक स्तरबाट चर्को आलोचना भएको थियो । मुस्ताङमा बुधबारसम्ममा सक्रिय कोरोना संक्रमितको सख्या ७६ नाघेको जनाईएको छ । मुस्ताङको थासाङमा १६ जना ,घरपझोङमा ४५ जना र वारागुङ मुक्तिक्षेत्र गाउपालिकामा १७ जना व्यक्तिमा कारोना संक्रमण पुष्टि भईसकेको छ ।
यस्तै ,कोभिडकै कारण एक महिलाले ज्यान गएको छ । तर ,मुस्ताङको तल्लो क्षेत्रमा अवस्थित तीन तहमा कोरोना संक्रमण देखा परेपनि उपल्लो मुस्ताङमा कोरोना परीक्षण नहुदा कोरोनाका बिरामी पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । जिल्लाका स्थानीय तहमा आईसोलेसन स्थापना गरिएपनि अधिकाश बिरामी होम आईसोलेसनमा बसेका आईसोलेसन खाली छन् । जिल्ला अस्पताल जोमसोममा भने ४ जना मात्र कोभिडका बिरामी आईसोलेसनमा छन्