गलकोटमा अक्सिजनसहितको आइसोलेसन

गलकोट नगरपालिका वडा नम्बर ५ मा ११ शैयाको अक्सिजनसहितको आइशोलेसन निर्माण गरिएको छ ।

गलकोट नगर अस्पतालमा कोरोनाको पहिलो चरणमा स्थापना गरिएको कोभिड अस्पतालाई स्तरोन्नति गरी आइसोलेसन बनाइएको हो । यहाँ पहिले पाँच शैयामात्रै थियो ।

नगरपालिकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै ११ शैयाको आइशोलेसन बनाएको हो । कोभिड १९ को दोस्रो लहर गलकोटमा पनि तीव्र गतिमा फैलिएपछि आइसोलेसन स्तरोन्नति गरिएको हो ।

नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले अस्पतालमा २ जना डाक्टर, १ जना नर्स, १ जना कार्यलय सहयोगी कार्यरत रहेको जानकारी दिए । अस्पतालमा एम्बुलेन्सको समेत व्यवस्था गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष नारायणध्वज मल्लले बताए ।

सरकारको प्रत्येक पालिकामा अस्थायी कोरोना अस्पताल बनाउने नीति अनुसार गलकोटमा पनि बनाइएको हो । अस्पतालमा कोरोना संक्रमित बिरामीको अवस्था हेरेर उपचार गरिने र बिरामीलाई थप उपचार आवश्यक परेमा रिफर गरिने नगर अस्पतालका प्रमुख डाक्टर निक्सन ड्गोलले बताए ।

अस्पतालमा अहिले सानो ठूलो गरी १६ वटा अक्सिजन सिलिन्डर छन् । यी सिलिन्डर दाताहरुबाट जुटाइएका हुन् ।

५ वटा ठूला सिलिन्डर मञ्जेश बम मल्ल र अन्य ४ वटा वडा नम्बर २ का वडा अध्यक्ष हिमबहादुर भण्डारी, इलाका प्रहरी कार्यलय, व्यवसायी केयरसिंह खत्री, योगेस भण्डारीको सहयोगमा संकलन भएका हुन् ।

नगरपालिकाले कोरोनको गति तीव्र रुपमा फैलिरहेकाले नगरबासीलाई सचेत रहन आग्रहसमेत गरेको छ । स्वास्थ्यमा कुनै पनि समस्या आएमा नगरपालिकाले नगरबासीलाई टेलिफोन सेवा पनि दिन थालेको छ । स्वास्थ्य समस्या भए ९८६०१५२३३३, ९८४९०२८२४०, ९८५७६४०७५१, ९८५७६४०७५२ र ९८५७६५६५२९ मा सम्पर्क गर्नसमेत नगरपालिकाले अनुरोध गरेको छ ।