उपेन्द्र नयाँ सरकारको पक्षमा, ठाकुर विपक्षमा

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार गठन गर्ने पार्टीको उद्देश्य नभएको बताएका छन्। अर्का अध्यक्ष उपेन्द्र यादव भने नयाँ सरकार बनाउनुपर्ने पक्षमा छन् ।

प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतको प्रस्तावमा मतदान नगरी तटस्थ बसेका अध्यक्ष ठाकुरले मंगलबार राति जारी गरेको विज्ञप्तिमा सरकार निर्माण गर्ने पक्षमा पार्टी नरहेको उल्लेख गरेका छन्।

जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले सोमबार प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट विश्वास गुमाएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै संयुक्त विज्ञप्ति जारी गरेर नयाँ सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए।

त्यसपछि अध्यक्ष ठाकुरले मध्यरातमा विज्ञप्ति जारी गर्दै सरकार गठन गर्ने पार्टीको उद्देश्य नभएको बताएका छन्। ‘सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्यविपरीत हो,’ ठाकुरले भनेका छन्।

उनले वैकल्पिक सरकार गठन गर्नु मधेश आन्दोलनको भावना र मर्मविपरीत हुनेसमेत उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीलाई मत नदिई ठाकुर पक्षका १५ जना तटस्थ बसेका थिए भने यादव पक्षका १५ जनाले ओलीको विपक्षमा सोमबार मत दिएका थिए।

जसपाभित्र नयाँ सरकार गठनका विषयमा विवाद देखिएको छ। एकीकरणले पूर्णता नपाउँदै फेरि विभाजन हुने दिशातिर पार्टी गएको देखिन्छ ।