कोभिडले देश ठप्प, १० जिल्लामात्र खुला

तीव्रत्तर रूपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प हुन पुगेका छन् ।

सङ्क्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक झण्डै बन्दाबन्दीको अवस्थामा पुगेको छ । अत्यावश्यक बाहेकका गतिविधि वैशाख पहिलो सातादेखि ठप्प छ । मानिसको आवागमनसमेत प्रभावित हुँदै आएको छ । सरकारले सङ्क्रमणको साङ्लो तोड्ने प्रयास जारी राखेको भए पनि कतिपय अवस्थामा कतै चुकेको देखिने र कतै सर्वसाधारणको हेल्चेक्र्याइँसमेत देखिएको जनस्वास्थ्यविद् औँल्याउँछन् ।

आइतबारसम्म १० जिल्लाले मात्रै निषेधाज्ञा जारी गर्न बाँकी छ । झण्डै २० दिनको अवधिमा मुलुकका ६७ जिल्लामा निषेधाज्ञा जारी गरी सङ्क्रमण रोकथामको प्रयास भइरहेको छ । त्यस्ता जिल्लामा अत्यावश्यक बाहेकका सबै गतिविधिमा रोक लगाइएको छ । त्यसमध्ये नौ जिल्लामा आंशिक निषेधाज्ञा छ । खुला रहेकामध्ये अधिकांश हिमाली जिल्ला छन् ।

देशका अधिकांश भाग ठप्प हुँदा आदेश जारी गर्न बाँकी रहेका ती जिल्लाका गतिविधिसमेत चलायमान हुन सकेको छैन । खुला रहेका १० जिल्लाले आदेश जारी गर्न बाँकी भए पनि मन्त्रिपरिषद्को यही वैशाख ६ गतेको निर्णयलाई आधार मानेर उच्च सावधानी अपनाउने तथा स्वास्थ्यका मापदण्ड पूर्ण कार्यान्वयनका लागि विभिन्न निर्णय गर्दै कोरोना फैलिन नदिन उच्च सावधानी अपनाउँदै आएको छ । केही जिल्ला भने निषेधाज्ञा जारी गर्ने तयारीमा पुगेका जनाइएको छ ।

अब निषेधाज्ञा जारी गर्न बाँकी रहेका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, रसुवा, तेह्रथुम, खोटाङ, भोजपुर, पाँचथर, लमजुङ र रुकुम पूर्व छन् । यद्यपि लमजुङ भने केही वडामा सीमित गतिविधि रोक लगाएर नियन्त्रण प्रयासमा रहेको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल आवश्यकतानुसार निषेधको आदेश जारी गरी रोकथाममा लाग्न जिल्लालाई निर्देशन दिइसकेको र सोही अनुसार आदेश जारी गरी कार्यान्वयन भइरहेको छ ।