राजीनामामा पृथ्वीसुब्बाको आक्रोश : पहिले सरकारमा बस्ने, अहिले बन्चरो हान्ने

उनले राजनीनामा गण्डकी प्रदेशका जनता र तिनका सपना पूरा गर्ने कार्यमा अबिचलित रुपमा लागिरहने प्रतिज्ञा पनि गरेका छन्
गुरुङ नेतृत्वको सरकार २०७४ फागुन ४ गते बनेको थियो । उनले यो प्रदेशलाई देशभरका प्रदेशहरुमा अब्बल प्रदेश, उत्कृष्ट प्रदेश सरकार र प्रभाबकारी प्रदेश सभा बनाउन सफल भएको दाबी पनि गरेका छन् ।

राजीनामामा उनले आफू नेतृत्वको सरकारले गरेका मुख्य कामको फेहरिस्त पनि पेश गरेका छन् । उनले लोकतन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, ‘हामी सबैले हेक्का राख्नुपर्नेचांहि के हो भने हामीले यात्रा गर्ने साधन संङघीय लोकतान्त्रिक गणतन्त्रको डुङ्गा नै हो । ’

राजीनामा उनले सरकारमै बसेर अहिले बन्चरो प्रहार गरेको आरोप लगाएका छन् । ‘एउटै चुनाबी मोर्चावाट लडने, एउटै घोषणापत्रवाट प्रतिज्ञा गर्ने, सरकारमा बस्ने अनि अहिले आएर बञ्चरो प्रहार गर्ने प्रबृति लोकतन्त्र, संङघीयता र गणतन्त्रका लागि हानी पु–र्याउने प्रबृति हो।’

उनले देशमा स्थिरता नचाहने, विकास विरोधी तत्वहरुको अराजनीतिक चलखेलको कारण हिजोसम्म सहकार्य गरेका र एउटै घोषणापत्र मार्फत निर्बाचनमा गएका दलहरुबाट समेत असहयोग र अस्थिरताको वातावरण सृजना भएका कारण पदबाट राजीनामा दिएको जनाएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरी ३ दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकारका लागि आह्वान भएको उल्लेख छ ।

सोमबार प्रदेशसभामा सरकारविरुद्धको अविश्वास प्रस्तावको छिनोफानो गर्ने कार्यसूची थियो ।