एमालेकै कारणले सरकार ढल्ने संकेत, नेपाल समूहको राजीनामा तयार

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने अघिल्लो दिन नै माधवकुमार नेपाल समूहले सांसद पदबाट राजीनामा दिने तयारी भएको छ ।

रातभरि र भोलि बिहान स्थायी समितिले कारणवश तलमाथि निर्णय लिएन भने राजीनामा दिने पक्का भएको एमाले सांसद विरोध खतिवडाले बताए । उनले भने, ‘रातभरिमा फरक स्थिति बन्ने सम्भावना न्यून भएको हुँदा सम्भवतः भोलि हामी पूर्व सांसद बन्छौं होला ।’

केही दिनदेखि पटक पटक भएका वार्तामा प्रधानमन्त्री ओलीसँग सहमति बन्न नसकेपछि उनीहरू राजीनामा दिने निर्णयमा पुगेका हुन् । राजीनामा दिने सांसदको संख्या भने खुलाइएको छैन ।

बिहान स्थायी समिति बैठक बसेर दिउसो राजीनामा दिने तयारी छ । ओलीलाई विश्वासको मत दिन नसक्ने र फ्लोर क्रस पनि अनैतिक ठानेको नेपाल समूहले राजीनामा दिने विकल्प रोजेको छ ।