२७ गतेपछि पनि ओली नै प्रधानमन्त्री नियुक्त भए के गर्ने : देउवा

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन असफल पारिने बताएका छन् ।

ओलीको बहिर्गमन आज आवश्यकता भएको बताएका उनले त्यसका लागि सुझबुझ तरिकाले उपाय अपनाउनुपर्ने उल्लेख गरे । शनिबार भएको पार्टी संसदीय दलको बैठकमा देउवाले राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाएका थिए । ‘राष्ट्रपतिको भूमिका अमुक पार्टीको नेताको जस्तो भयो । उहाँका कारणले संविधानमाथि बारम्बार प्रहार भयो । राष्ट्रपतिले पदीय दायित्व अनुसारको भूमिका खेल्न सक्नुभएन ।’

उनले नयाँ सरकार निर्माणका लागि राष्ट्रपतिले आह्वान गर्छिन् कि गर्दिनन् भन्नेमा आशंक व्यक्त गरे । संसदको ठूलो पार्टी भनेर ओलीजीलाई नै प्रधानमन्त्री नियुक्त गरिदिइन् भने के गर्ने ?,’ उनको प्रश्न थियो, संविधान विधि कानुन केही नमान्ने राष्ट्रपति र प्रधानमन्त्री भएपछि के हुन्छ ? मुलुक दुर्घटनामा जान थाल्यो ।’

बैठकमा सांसदहरुले काँग्रेसको नेतृत्वमा वैकल्पिक सरकार निर्माणमा जोड दिएका थिए । बैठकले विशेष अधिवेशन बोलाइएकाले अविश्वास प्रस्तावको औचित्य नभएको बैठकले निष्कर्ष निकालेको छ ।