कोरोनाबाट पूर्वमन्त्रीको मृत्यु

कोभिड संक्रमण भई उपचारार्थ अस्पताल भर्ना भएका पूर्वमन्त्री मोतीप्रसाद पहाडीको गत राती नेपालगञ्जमा निधन भएको छ ।

७७ वर्षका उनी उच्च रक्तचाप र मधुमेहबाट पनि पीडित थिए । कोभिड संक्रमित होम आइसोलेसनमा रहेका उनी अक्सिजनको मात्रा कम भएपछि बुधबार बिहान भेरी अस्पतालमा भर्ना भएका थिए ।

दिउँसो स्वास्थ्यमा सुधार भए पनि मध्यरातमा अबस्था बिग्रदै गएर निधन भएको डा पारस श्रेष्ठले जानकारी दिए ।

पहाडी डोल्पाका पुराना राजनीतिज्ञ हु्न् । उनी २०२१ सालमा २१ बर्षको उमेरमा पहाडा गाउँ पन्चायतका प्रधानपन्च बनेका थिए । पछि उनी जिल्ला पन्चायत सभापति र पटक पटक राष्टिय पन्चायत सदस्य बने ।

२०४६ सालको परिवर्तनपछि कांग्रेस प्रवेश गरेका उनी २०५१ सालमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार भई चुनाव जितेका थिए । पछि कांग्रेस प्रवेश गरी २०५३ सालमा पहिले कानुनराज्यमन्त्री पछि वन तथा भू संरक्षण र आपूर्ति मन्त्री बनेका थिए ।