वारागुङ मुक्तिक्षेत्रको सरकारी गाडीले बिरामी बोक्ने

कोरोना माहामारीको दोश्रो लहरसंगै हिमाली जिल्ला मुस्ताङ समेत यसमा अछुतो छैन । पछिल्लो समय मुस्ताङमा कोरोना संक्रमितको संख्या दिनहु वृद्धि हुन थालेको छ ।अहिले मुस्ताङमा सक्रिय कोरोना संक्रमितको संख्या २६ पुगिसकेको छ ।
हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले पालिका भित्रका आफ्ना सर्वसाधरण जनता कोरोना माहामारीबाट प्रभावित हुँनसक्ने संम्भावित परिस्थितीलाई आत्मसाथ गर्दै पालिकाको निजी कामकाजका लागि प्रयोग गरिएको सरकारी स्कर्भियो गाडी आप्तकालिन सेवाका लागि सहयोग गर्ने जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङको अध्यक्षतामा सोमबार बसेको वारागुङ मुक्तिक्षेत्र कार्यपालिका बैठकले अहिलेको कोरोनाको बिषम अवस्थामा जनताको उद्दारका लागि बिरामी बोक्न एम्बुलेन्सको रुपमा सहयोग गर्ने निर्णय गरेको अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए ।
अध्यक्ष गुरुङले अहिले कोरोनाको जटिल अवस्था सृजना भएको र जनताबाट निर्वाचित जनप्रतिनिधिले जनताको हितका लागि काम गर्नु पर्ने भएकाले आफुहरु तत्कालका लागि सवारी सुविधा पर पन्छ्याएर जनताको हितका लागि समर्पण गरेको बताए । उनले गाउँपालिकाको कामकाजमा आवश्यकता परे बैकल्पिक साधन प्रयोग गर्ने र जनतालाई यो अवस्थामा समस्या परे उद्दारका लागि गाउपालिका जुनसुकै बेला सेवा दिन तयार रहेको उल्लेख गरे ।
गाउपालिकाको लागि दिईएको सरकारी गाडी गाउपालिकाको कार्यसम्पादन तथा कार्य सहजताका लागि सरकारले उपलब्ध गराएको हुन्छ ।जनप्रतिनिधि र कर्मचारीले फिल्ड भिजिट तथा कार्यालयको कामकाजमा प्रयोग गरिने सरकारी गाडी कोभिडका कारण पालिका भित्रका जनतालाई पर्नसक्ने समस्यालाई ध्यानमा राखि बिरामीको आकस्मिक उद्दारमा परिचालन गरिनु गाउपालिकाले सहनीय निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन्द्र शर्माले बताए ।उनले गापा मार्फतको सरकारी गाडी जनताको सेवाका लागि प्रयोग गर्ने व्यवस्था गरिनु पहिलो भएको दावी गरे ।