मुस्ताङमा बढे कोरोना संक्रमित

- कोभिड पोजेटिभको सख्या २६ पुगेको छ

जिल्ला मुस्ताङमा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेको छ ।कोरोनाको दोश्रो लहरसंगै मुस्ताङमा संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुदै जान थालेको जिल्ला अस्पताल जोमसोमले जनाएको छ ।
जिल्ला अस्पताल जोमसोमका कोभिड—१९ फोकल पर्सन डा. केविन पौडेलका अनुसार मुस्ताङमा मंगलबारसम्म कोभिड पोजेटिभको सख्या २६ पुगेको छ । जिल्ला अस्पतालको नियमित कोरोना एन्टिजेन परीक्षण गर्दा मंगलबार ६ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबार मुस्ताङको घरपझोङमा ४ जना , घरपझोङ ५ मा १ जना र घरपझोङ —२ मा १ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो । मुस्ताङमा कोरोना पुष्टि हुनेमा १८ महिनाको वालिका देखि ७३ वर्षसम्मको बृद्ध छन् । यसअघि गत बिहिबार मुस्ताङमा ७२ वर्षिया बृद्धाको कोरोनाका कारण मृत्यु भएको थियो । मुस्ताङमा कोरोना पोजेटिभ देखिनेमा अधिकाश घरपझोङ गाउपालिका भित्रका बासिन्दा छन् भने २ जना कर्मचारीमा पनि कोरोना देखिएको छ । कोरोना पुष्टि भएका अधिकांश व्यक्ति होम आईसोलेसनमा छन् भने केही अस्पतालकै आईसोलेसनमा बसेका छन् ।
कोरोना संक्रमितको व्यवस्थापनमा चुनौती ः
मुस्ताङमा पर्याप्त कोरोना परिक्षण भएपनि संक्रमितको संख्या अप्रत्याशित रुपमा वृद्धि हुनसक्ने जिल्ला अस्पताल जोमसोमको अनुमान छ । कोरोना लक्षण भएका बिरामी उपचारका लागि खुल्न नसकेको र परीक्षणको किटको अभावमा समस्या परेको जनाईएको छ । मुस्ताङका स्थानीय तहले कोरोना संक्रमितका लागि व्यवस्थापनमा वेवास्ता गरेको पाईएको छ भने उपल्लो मुस्ताङमा कोरोना परीक्षण गर्ने पूर्वाधार,जनशक्ति र उपकरणको अभाव भएको हो । होम आईसोलेनसमा बसेका बिरामीको निगरानी हुन नसकेको र स्थानीय सरकारबाट क्वारेन्टाईन र आईसोलेसनको व्यवस्था गर्न समेत स्थानीय तहको ध्यान जान सकेको छैन । उपल्लो मुस्ताङमा किट खरिद गर्ने ,जनचेतना र पूर्वाधार निर्माणका लागि आवश्यक तैयारी भईरहेको लोघेकर दामोदरकुण्ड गापाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । उनले पूर्वाधार निर्माण गरेर कोरोना परिक्षणको व्यवस्था मिलाउने बताए ।