बर्खास्त गरिएका प्रदेश प्रमुखले भने : राष्ट्रपतिलाई धन्यवाद !

file pix

गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले पदमुक्त गरिएकोमा दुःख नभएको बताएका छन् ।

उनले आफू अधिकारविहीन खुला जेलबाट मुक्त भएको प्रतिक्रिया दिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार शेरचनलाई पदमुक्त गरी सीता पौडेललाई नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् ।

मंगलबार बिहान पत्रकार सम्मेलन गरी शेरचनले भने, ‘मुरी–मुरी धन्यवाद छ राष्ट्रपति ज्यूलाई ।’ समस्या समाधानका लागि सर्वदलीय बैठक राख्न खोजे पनि पदमुक्त गरिएको उनको भनाइ छ ।

सदन स्थगन गर्ने वा विशेष अधिवेशन अन्त्य गर्ने विषयमा आफूसँग कसैले सल्लाह नगरेको उनले बताए । उनले भने, ‘सर्वदलीय बैठक राखेर कुरा गर्ने भन्ने थियो, पाइनँ ।’

माओवादी केन्द्रबाट प्रदेश प्रमुख बनेका शेरचनलाई हटाएर नयाँ ल्याएकी प्रदेश प्रमुख एमालेको भातृ संगठन अखिल नेपाल महिला संघकी केन्द्रीय संयोजक हुन् । सरकार विरुद्ध अविश्वास प्रस्ताव पेश भएका बेला प्रदेश प्रमुख फेरेर संघ सरकारले प्रदेशलाई आफ्नो स्वार्थ अनुकूल चलाउने खोजेको धेरैको अनुमान छ ।