गण्डकी र सुदूरपश्चिममा फेरिए प्रदेश प्रमुख

गण्डकी र सुदूरपश्चिम प्रदेशमा नवनियुक्त भएका प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका सीताकुमारी पौडेल र गंगाप्रसाद यादवलाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी पद तथा गोपनीयताको सपथ खुवाएकी हुन् ।

नेपालको संविधानको धारा १६७ बमोजिम पौडेल र यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सपथ समारोहमा प्रधानमन्त्री केपी शर्माओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।

आइतबार नै राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख सर्मीलाकुमारी पन्तलाई पदमुक्त गरेकी थिइन् ।

संविधानले प्रदेशको प्रमुखका रुपमा प्रदेश प्रमुख रहने व्यवस्था गरेको छ । प्रदेश सरकारलाई सन्तुलित बनाउन र सिंहदरबारको आभास दिन बनाइएको प्रदेश प्रमुख सरकारको कर्मचारी नियुक्ति जस्तो बन्न पुगेको छ ।

संघमा राष्ट्रपति र प्रधानमन्त्री भए जस्तै हो प्रदेशमा प्रदेश प्रमुख र मुख्यमन्त्री भए पनि त्यसो हुन सकेन ।

गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिलाकुमारी पन्त माओवादी केन्द्रबाट नियुक्त भएका हुन् । माओवादी केन्द्रमै तिलक परियारलाई प्रदेश २ को प्रदेश प्रमुखबाट यसअघि सरकारले हटाइसकेको छ ।

गण्डकीका पूर्व प्रदेश प्रमुख बाबुराम कुँवर प्रदेश प्रमुख मुख्यमन्त्री कार्यालयमा जानु अनौठो नभए पनि शपथ खुवाउनै जानु चरम मर्यादा विपरीत भएको बताउँछन् ।