मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। पोखरेलले केही बेरअघि प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका हुन्। नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका छन् ।

उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टी ९जसपा०ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उनीविरुद्धको अविश्वास प्रस्ताव आज प्रदेश सभामा पेश हुन लागेको छ।

अविश्वास प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका चार जना सांसदलाई मन्त्री नियुक्त गरेका थिए। मन्त्री नियुक्त भएका चारै सांसदलाई जसपाले कारबाही गरेको छ ।

उनले प्रदेश सभाको बैठक बस्नुअघि नै राजीनामा दिएका हुन्। प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको छ।

लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय छ। २०७४ को निर्वाचनबाट एमालेका ४१, माओवादीका २०, कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद निर्वाचित भएका थिए।

एमालेमा प्रवेश गरेका दुई सांसदलाई माओवादीले कारबाही गरिसकेको छ। उनीहरूको सांसद पद खारेज भइसकेको छ।

अहिले प्रदेश सभामा ८० सदस्य छन्। सरकार बनाउने बहुमतका लागि ४१ सदस्य चाहिन्छन्।