मजदूर एकता अमर रहोस् !

प्लाण्ट, मेशिन र औजार चिन्नै नपर्ने
थर्ड पार्टी इन्स्योरेन्स सुबिधा दावीगर्नै नपर्ने
जीवनबीमाको रकम आफैंले बुझ्नपाउने
कार्यस्थलमा आफ्नै खुशीमा
पस्न र निस्कन पाउने
न ज्याला काटिने पीर
न कामबाट निकालिने डर
उल्टै मालिक थर्काउन सक्ने हैसियत भएका
मजदुरकाती ’सच्चा’ प्रतिनिधिलाई
मई दिवसको शुभकामना
कमरेड
मई दिवस जिन्दावाद !
मजदुर एकता अमर रहोस् !!

पार्टीको ओतमा
’स्वतन्त्र’ मजदुर संगठनको पदाधिकारी बन्न सक्ने
विदेशी दाताले दिएको वातानुकुलित गाडि चढेर
निर्वाध सिंहदरवार भित्र र बाहिर गर्न सक्ने
देशका श्रमिकहरुको अवस्था जान्न
ठूला ठूला होटेल र विदेश सम्मै पुगेर
उल्टै विदेशी विज्ञहरुको ज्ञान र अनुभवलिन सक्ने
हाम्रा ती ’मजदुर’ प्रतिनिधिलाई
मई दिवसको शुभकामना
कमरेड
मई दिवस जिन्दावाद !
मजदुर एकता अमर रहोस् !!

पार्टीको इशारामा
हडताल गराउन सक्ने
शक्ति प्रदर्शनको लागि
कार्यस्थल बन्द गराउन सक्ने
नेतालाई वार्ताको टेबुलमा राखेर
पार्टीको रसिदमा
लेखा परीक्षणमुक्त चन्दाको लागि
उल्टै मालिकसंग रकमको सौदावाजी गर्न सक्ने
मजदुरकाती’कर्मठ’ प्रतिनिधिलाई
मई दिवसको शुभकामना
कमरेड
मईदिवस जिन्दावाद !
मजदुर एकता अमर रहोस् !!

कारखानामा ताला लगाएर
एकै साथबाहिर निस्केको श्रमिक
तल पटाङ्गिनीमा चप्पल फुकालेर
काँधमा बोकेको ग्याँसको सिलिण्डर
तपाँईको भान्छामा राखेर फर्कदैं गर्दा
भान्सामा मासु पाकिरहेको चाल पाउँछ
मटान हुँदै बाहिर निस्कदा
बैठककोठामा
मजदुर नेताहरु रहेको चाल पाउँछ, र
रित्तो सिलिण्डर काँधमा राखेर
तपाँईको मुल ढोकाबाट बाहिरिंदा
सडकमा रातो झण्डा बोकेका मानिसहरु देख्छ
अनि एकैसाथ सम्झन्छ
कारखानामा ताला लगाएर सँगै बाहिरिएको साथीको
भान्सामा पाकिरहेको मासु
बैठक कोठाबाट आइरहेको
मजदुर नेताका चिनेका स्वरहरु, र
मई दिवस अर्थात् श्रमिकहरुको छुट्टीको दिन
ग्याँस रित्तिएको रातो शिलिण्डर भूँइमा राख्छ
रातो झण्डा बोकेका मानिसहरु
सडकको घुम्ति काटेर पर धेरै पर पुगिसकेका थिए
शायद नयाँ कमरेडहरु …
कमरेड
मई दिवस जिन्दावाद !
मजदुर एकता अमर रहोस् !!