‘एमालेमा लाग्दिनँ, फेरि स्वतन्त्रबाटै चुनाव लड्छु’

बिहीबार युवा तथा खेलकुद मन्त्री नियुक्त भएका राजीव गुरुङ (दीपक मनाङे)ले अब एमाले नभएको दाबी गरेका छन् । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय टुक्र्याएर उनलाई मन्त्री बनाएका हुन् ।

मन्त्री मनाङेले भने, ‘मैले जिन्दगीमा गलत कुरामा आमाबुबाले भनेको त मानिनँ भने पार्टीले भनेको पनि मान्दिनँ । त्यसैले कहिल्यै पार्टीमा बस्दिनँ । एमालेमा पनि लाग्दिनँ । अब मेरो एउटा लक्ष्य छ, फेरि एकपटक स्वतन्त्र रूपमा प्रदेशमै चुनाव लड्छु ।’

अन्तिम पटकका लागि चुनाव लड्ने र बाँकी योजना पूरा गर्ने उनले सुनाए । आफूलाई चुनावका बेला एमालेले सहयोग गरी ऋण लगाएको र अहिले अविश्वास प्रस्तावको मतदानका बेला अनुपस्थित भएर आफूले गुन तिरेको उनको भनाइ छ ।

मनाङे गुन्डागर्दीको आरोपमा पटक पटक पक्राउ परेका थिए । सांसद बनेपछि पनि एन्फा कास्की अध्यक्ष मीलन गुरुङलाई पिटेका थिए । उनले मन्त्री भएपछि गर्ने कामको योजना बनाइसकेको उल्लेख गरे । उनले भने, ‘यसका लागि मैले एउटा स्किम बनाएको छु । वन र कृषि मन्त्रालयसँग मिलेर त्यो छिट्टै सार्वजनिक हुन्छ । गण्डकीका १० जिल्लाका लागि दुई–चार हजार रोपनी सरकारी जग्गामा बृहत् कृषि आयोजना चलाउने हो ।’

अवकाश पाएका खेलाडीलाई ठूला कृषि उद्योगमा लगाउने योजना उनले सुनाए ।