प्रयोगशाला र अस्पतालकै नियतमा शंका

गण्डकी प्रदेशसभामा विपक्षमा रहेका ३ दलले विज्ञप्ति निकालेर सभामुख र प्रदेश सभामा अविश्वास प्रस्तावका पक्षधर सांसदको सुरक्षा गर्न माग गरेका छन् । प्रदेश सभा सदस्यलाई धम्की र प्रलोभन दिने व्यक्ति र समूहलाई कानुनको कठघरामा ल्याई कारवाही गर्न उनीहरुको माग छ ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान र जनता समाजवादी दल संसदीय दलका नेता हरिशरण आचार्यले यस्तो माग गरेका हुन् । विज्ञप्तिमा सांसद खीमविक्रम शाहीको पिसिआर रिपोर्टहरुको छानबिन गरी प्रयोगशालाहरुको विश्वसनीयताको जाँच गर्नसमेत माग गरिएको छ ।

३ दलले चरक अस्पतालको सिसिटिभी हार्डवयरको जाँच गरी सम्पूर्ण फुटेजहरु सार्वजनिक गर्न आग्रह गरेका छन् । गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव पेस हुने भएपछि विधेयक अधिवेशन हठात् अन्त्य गर्नु, कोरोना परीक्षणको माग उठाएर सत्तापक्षले असंसदीय तरिकाले सदन अवरुद्ध गर्नु र प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने दिन सांसद शाही अस्वभाविक र रहस्यमय तरिकाले सदनमा अनुपस्थित हुनु तथा दलको सचेतकले निजलाई सार्वजनिक गर्नका साथसाथै जीवनरक्षाको समेत आग्रह गर्नुभएको शृंखलाबद्ध घटनाक्रमले दुखित र आश्चर्यचकित बनाएको छ विज्ञप्तिमा उल्लेख छ ।

प्रदेशसभामा रहेका सांसदले कसरी प्रयोगशालामा गएर स्वाब दिए भन्ने प्रश्न गर्दै आधा घन्टाको फरकमा २ फरक रिपोर्ट सार्वजनिक हुनु अत्यन्त रहस्यमय र अस्वभाविक भएको यी दलको ठम्याइ छ ।

संसदीय दल र प्रदेश सभा सचिवालयलाई समेत जानकारी नगराई आइसियुमा भर्ना गरिनु र पार्टीका नेताले भेट्न खोज्दा पनि अस्पताल प्रशासनले भेट्न नदिनु खेदजनक भएको उनीहरुले जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘चरक मेमोरियल अस्पताल र त्यहाँका जिम्मेवार चिकित्सकको व्यवहार गैरजिम्मेवार र अविश्वसनीय छ ।’