अत्यावश्यक व्यवसायमात्र चलाऔं

पोखरा उद्योग वाणिज्य संघले कोभिड १९ को दोस्रो लहरको गाम्भीर्यता बुझ्न र आफै संयम हुन उद्योगी, व्यवसायीसँग आग्रह गरेको छ ।

संघले बिहीबार जारी गरेको विज्ञप्तिमा तोकिएको निर्धारित अवधिका लागि तोकिएका ‘अत्यावश्यक’ सामग्रीका व्यवसायमात्रै सञ्चालन गर्न अनुरोध पनि गरेको हो ।

‘संकटको यो घडीमा स्वास्थ्य मन्त्रालयले सुझाएका सुरक्षा तथा सरकार एवं स्थानीय प्रशासनले जारी गरेका मापदण्ड कायम गराउनु व्यक्ति र समाजको लागि हितकर भएकोमा कुनै द्विविधा छैन’, संघका महासचिव सुरेन्द्रमान विजुक्छेले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ विषमतामा राज्यको आग्रह अवहेलना गर्दा राज्यबाट घोषित राहतका प्याकेज दावी गर्ने नैतिकता पनि बाँकी रहँदैन ।

विषमतामा मैले व्यवसाय गर्न किन नपाउने भन्ने प्रश्न गौण बन्न पुग्छ भन्ने हामीले मनन गर्नैपर्छ ।’

संघले व्यवसायीले बिक्री, बितरण गर्ने सबै सामग्री सबै कुनै न कुनै बेलाका निम्ति अत्यावश्यक नै हुने भए पनि शुभ र अन्तिम संस्कारमा चाहिने ‘बस्त्र’लाई एउटै खालको आवश्यकता मान्न सकिँदैन भन्नेमा प्रष्ट हुन पनि व्यवसायीसँग आग्रह गरिएको छ ।

संघले आफू सुरक्षित बन्न तथा समाजलाई सुरक्षित राख्नको लागि उद्योगी÷व्यवसायीलाई पटक–पटक अनुरोध गरिएको स्मरण गर्दै विषमतामा पनि अत्यावश्यक सामग्रीको आपूर्ति प्रणालीलाई सहज राख्नु र अभाव सिर्जना हुन नदिन पनि आग्रह गरेको छ ।

उद्योगी, व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले समेत यो समय नागरिक आफै संवेदनशील र जिम्मेवार बन्न आग्रह गरेको छ ।