दीपक मनांगे बने मन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

संसदीय अंकगणितमा अल्पमतमा रहेका उनले एमालेको समर्थनमा चुनाव जितेका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनांगे) लाई युवा तथा खेलकुदमन्त्री बनाएका हुन् ।

गण्डकीमा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि २ मन्त्रालय खाली थिए । आफूविरुद्ध अविश्वास प्रस्ताव आएर सरकार ढल्ने मोडमा पुगेका बेला मन्त्रालय फुटाएर गुरुङले नयाँ मन्त्री बनाएका हुन् ।

राजीव मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा चुनिएका हुन् । एमालेको समर्थनमा उनले १ हजार चार सय १० मत ल्याएर चुनाव चितेका थिए ।

चुनाव जितेपछि उनलाई ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परेका उनी १० वर्षभन्दा कम सजाय हुने मुद्दा बाहिर बसेरै लड्न मिल्ने व्यवस्था बमोजिम छुटेका थिए । उनी राप्रपा, कांग्रेस हुँदै एमाले बनेका थिए ।

एमालेमा प्रवेशपछि पनि स्वतन्त्रको हैसियत मागेर लेबी फिर्ता लैजाने उनले मन्त्री बन्नका लागि पटक पटक बार्गेनिङ गरेका थिए ।